३० हजार पर्ने रेम्डिसिभिर १ लाख २० हजारमा बिक्री गर्नेलाई थुनामा पठाउने सीडीओको आदेश

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिरको कालोबजारी गरेको अभियोग लागेका व्यक्तिलाई थुनामा पठाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आदेश दिएका छन् ।

पराजुलीले कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐनअनुसार सेवक फार्मेसीका सञ्चालक रसिक मियालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।

नेपाल प्रहरीको अपराध महाशाखाले २३ वैशाखमा उनलाई बसुन्धारा क्षेत्रबाट प’क्राउ गरेको थियो । उनीमाथि ६ थान रेम्डिसिभिर औषधि ३० हजार पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोप लागेको थियो ।

उनको फार्मेसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘महामारीमा कालोबजारी गर्नु अक्षम्य अपराध हो, पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छु ।’

पराजुलीको आदेशपछि मियालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।