जो एक्लै ७६ कोठासहितको फाइभ स्टार होटलमा लकडाउनको १४ महिनासम्म बसे

एक व्यक्तिले लकडाउनको १४ महिनासम्म न्यूयोर्कको एक भव्य फाइभ स्टार होटलमा एक्लै बसेर बिताए । यो पूरै समय उनी त्यो भवनमा एक्लै थिए जबकि त्यो विशाल र भव्य होटलमा ७६ वटा पाहुना बस्ने कोठा मात्र छन् । रोबर्ट मालिया नामका यी व्यक्तिले १४ महिनासम्म भव्य होटलमा एक्लै बस्दाको अनुभव सुनाएका छन् ।

त्यो होटलमा बस्नको लागि मालिया होटल मालिकको पहिलो रोजाइ भने थिएनन् । तर, कोरोना महामारीको डरले अरु कोही उक्त होटलमा बस्न नपाएपछि मालिकले त्यहाँ बस्नको लागि अर्को विकल्प पाएनन् र अन्ततः मालिया त्यो होटलमा बसे ।

अमेरिकाको न्यूयोर्कमा मार्च २०२० मा लकडाउन लागू गरिएको थियो । त्यसपछि त्यहाँ सबै बन्द भयो । सबै व्यवसाय बन्द हुने भएपछि न्यूयोर्कको अग्नी नियन्त्रक विभागले कुनै पनि आपतकालीन स्थितिको लागि हरेक भवनमा एक जनालाई राख्न आदेश दियो ।

क्रेन न्यूयोर्कको रिपोर्टअनुसार यो घोषणापछि मिडटाउनमा बनेको फाइभ स्टार होटल चटवालको सुरक्षाको लागि १ जना त्यहाँ बस्नुपर्ने भयो र मालियाले होटलको भवनमा बस्ने इच्छा देखाए । होटलको मालिकको लागि उनी पहिलो रोजाइ थिएनन् तर महामारीको डरले अरु कोही यहाँ बस्न राजी नभएपछि ३६ वर्षीय मालियालाई त्यहाँ बस्ने जिम्मेवारी दिइयो ।

मालियाले आफ्नो अनुभव सुनाउँदै जहाँ उनले काम गर्छन् त्यहाँ बस्नुको अनुभव शानदार रहेको बताए । उनले होटलको तुलनामा आफ्नो अपार्टमेन्ट निकै सामान्य रहेको बताए । उनले १४ महिनासम्म होटलमा बस्दा अहिले त्यो ठाउँप्रति आफ्नोपन महसुस हुन लागेको बताए । मालियाले भने ‘जब हप्ता महिनामा परिणत हुन थाले त्यसपछि मलाई यहाँ बस्ने बानी भयो ।’

सुरुमा त्यहाँ एक्लै बस्नु उनलाई निकै अनौठो लागेको थियो । त्यहाँ सबै कुरा निकै शान्त थियो । होटल स्टाफका सबै ५९ जना गएपछि उनीमाथि त्यहाँको सफाइको जिम्मेवारी पनि थियो । उनले खाना धेरैजसो बाहिरबाट मगाए । मालियाका अनुसार बिहान साढे ५ बजे उठेपछि कैयौं किसिमका हाउसकिपिङ गर्ने, मेल छुट्याउने र त्यहाँको व्यवस्थापन हेर्ने उनको जिम्मेवारी थियो । हप्तामा एक पटक उनी भवनका सबै शोचालय फ्लश गर्थे ।

उनी महिनामा २ पटक भवनका सबै शावर चलाउँथे र १० मिनेटसम्म चलिरहन दिन्थे । मालियाले बताएअनुसार अग्नी नियन्त्रक विभागको गाइडलाइनअनुसार त्यहाँ हप्तामा एक पटक सुरक्षा गार्ड र भवनका मुख्य अभियन्ता आउँथे । उनीहरु विभागको निर्देशन पालना भएकोबारे जाँच गर्थे । मालियाका अनुसार उनलाई अब आफ्नो घरको याद आउन थालेको छ ।