कोरोना माहामारीले गर्दा नेपालले गुमायो तेक्वान्दोमा अवसर, ओलम्पिक छनोटबाट बन्यो वञ्चित

काठमाडौं । जापानको राजधानी टोकियो शहरमा हुदै गरेको ओलम्पिक छनौटका लागि नेपालले तेक्वान्दोमा सहभागिता जनाउन नपाउने भएको छ ।

नेपाल तेक्वान्दो संघले प्रेस विज्ञप्ती जारी गर्दै जोर्डनमा हुने भनिएको छनौट प्रतियोगिताका लागि त्यहाँको सरकारले भारत र नेपाललाई ‘रेड लिष्ट’मा राखेको र आफ्नो देश भन्दा बाहिर १४ दिनको क्वारेन्टाइनमा बसेर मात्र जोर्डन प्रवेश गर्न पाउने नियम बनाएपछि नेपालले छनौटमा सहभागिता जनाउन नपाउने जनाएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘छनौट प्रतियोगिताका लागि करिब १६ दिनमात्र बाँकी रहेको अवस्थामा कोभिडको महामारीको कारण देखाँउदै मिति २०७८ बैशाख २१ गते आयोजक राष्ट्रबाट नेपाल र भारतबाट आउने जोकोही पनि दुई हप्तासम्म आफ्नो देशबाहिर तेस्रो मुलुकमा गई आईसोलेशनमा बसेर आएको खण्डमामात्र जोर्डनभित्र प्रवेश गर्न दिने भन्ने जोर्डन सरकारद्वारा जारी प्रोटोकलबारे पत्रद्वारा यस संघलाई सूचित गरियो ।

यसबाट नेपाली तेक्वान्दो खेलाडीहरूको सहभागिता नै अनिश्चित बन्न पुगेको छ ।’ त्यस्तै, यसबारे संघले आयोजक समितिलगायत विश्व तेक्वान्दो महासंघ, एशियाली तेक्वान्दो महासंघसँग निरन्तर संवाद गरिरहेको र भारतका तेक्वान्दो संघसंगसमेत छलफल गरी उक्त निर्णयको कार्यन्वयनबाट नेपालको सहभागितालाई पर्ने असरबारे पुर्नबिचारका लागि परिपत्रसमेत गरिएको जनाएको छ ।

यसका साथै, संघले नेपालको तेक्वान्दो खेलाडीहरूको सहभागिताको सन्दर्भमा उत्पन्न उक्त अवस्थाका बारेमा राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलाईसमेत जानकारी गराँउदै आवश्यक सहयोगका लागि अनुरोध पनि गरेको छ ।
नेपालको छनौट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने तेक्वान्दो एक्लो खेल हो । त्यसैले, अब छनौट चरण खेल्न नपाउने भएपछि तेक्वान्दोलाई वाइल्ड कार्डकै भर रहेको छ ।

ओलम्पिक सोलिडारीटीमा रहेका बीरबहादुर महराको नाम यसअघि नै पठाइएको छ । त्यस्तै, त्यसमा अन्य दुई जना १३ औं सागमा स्वर्ण जितेका भुपेन श्रेष्ठ र रजत जितेकी निमा गुरुङको नाम पनि थप गरिएको छ । ओलम्पिक खेल र पारा ओलम्पिक खेलका लागि हुने एशियाली समूहको छनौट प्रतियोगिता यही जेठ ०७ गतेदेखि जेठ ९ गतेसम्म जोर्डनको राजधानी अम्मान शहरमा आयोजना हुदैछ ।