फार्मेसीले नै लुकायो रेम्डेसिभिर,फार्मेसीमा काम गर्ने प’क्राउ

कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधिको कालोबजारी हुन थालेको छ । विराट शिक्षण अस्पतालको फार्मेसीले लुकाएर राखेको २४ भाइल रेम्डेसिभिर प्रहरीले मंगलबार बरामद गरेको हो ।

बिरामीका आफन्त किन्न जाँदा सकिएको भन्दै फर्काएपछि प्रहरी र औषधि व्यवस्था विभागका कर्मचारी पुगेर खोजी गर्दा उक्त परिमाणमा रेम्डेसिभिर लुकाएको पाइएको हो । प्रहरीले फार्मेसीमा काम गर्ने विमल कार्कीलाई प’क्राउ गरेको छ ।

उक्त फार्मेसीमा केही दिनअघि मात्रै ३ सय भाइल रेम्डेसिभिर आएको थियो । बिरामीले रेम्डेसिभिर नपाएको गुनासो आएपछि अनुगमन गरिएको विभाग प्रमुख सञ्जीव शर्मा कट्टेलले बताए ।

विभागले कम्पनीअनुसार रेम्डेसिभिरको मूल्य प्रतिभाइल ४ हजार ८ सयदेखि ५ हजार २ सय रुपैयाँसम्म तोकेको छ । तर विराटनगरका अधिकांश औषधि पसलले महामारीको फाइदा उठाउँदै एजेन्टमार्फत प्रतिभाइल १५ हजारदेखि २० हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ ।

केही दिनअघि नोबेल शिक्षण अस्पतालअगाडिको साथी फार्मेसीका सञ्चालक सोनु आलम र कामदार श्रवणकुमार यादवलाई नक्कली रेम्डेसिभिर बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूले वीरगन्जमा उत्पादन हुने ज्वरो र छाती दुख्दा प्रयोग गरिने ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा रेम्डेसिभिरको नक्कली लेबल टाँसेर महँगो मूल्यमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले २ सय भाइलभन्दा बढी नक्कली रेम्डेसिभिर बिक्री गरेको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।