आचारसंहिता उल्लंघन गर्दै ओलीको चेतावनी : बादललाई भोट नहाल्ने कुरा क्षम्य हुन सक्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मौनअवधिमा भोट हाल्न निर्देशन दिएका छन् । उनले बहुदलीय व्यस्थामा दलीय निर्देशनको पालना पार्टीपद्धतिअनुकूल नहुने बताउँदै किन यस्तो अवस्थामा पुग्छौँ भनेर प्रश्न गरेका छन् ।

उनले सबै नेता–कार्यकर्तालाई पार्टीको आधिकारिक उमेदवार गृहमन्त्री रामबहादुर थापा बादलको पक्षमा उभिन भनेका छन् । जेठ ६ गते अर्थात् भोलि हुन लागेको वाग्मती प्रदेशअन्तर्गगतको राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेएमाले बीच नै प्रतिस्पर्धाजस्तो हुन पुगेको छ । पार्टीको उमेदवार बादल छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले अरू दलहरूलाई सहमत गराएर डा. खिमलाल देवकोटा उठाएका छन् ।

“हामी सबै जनप्रतिनिधिहरु पार्टीका तर्फबाट उम्मेदवार बनेका हौं । पार्टीका सयौं कार्यकर्ताहरु र हजारौं मतदाताहरुको अमूल्य मतबाट विजयी बनेर यस जिम्मेवारीमा आएका हौं । निर्वाचन अभियानका क्रममा र विजयपछि पार्टी घोषणापत्रमा उल्लेख गरिएका विषयहरु जसरी पनि पूरा गरी छाड्ने छौं भनेर हामीले जनतामाझ प्रतिवद्धता गरेका छौं ।

हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टीे हित विपरित काम नगर्ने सपथ लिई आएका छौं । आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दुमा पुग्छौं ?,” ओलीले भनेका छन् ।

पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन भन्दै ओलीले प्रत्येक चुनौतीपूर्ण घडीमा हामीले आफूलाई उम्मेद्वार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाझ आफूले गरेका वाचाहरुप्रति हमेशा वफादार रहनु हामी सबैको कर्तव्य भएको सम्झाएका छन् ।

“अग्रजहरुले अत्यन्त कष्टका साथ जन्माएको, हुर्काएको र जनताको माया एवम् विश्वासका जगमा यस बिन्दुसम्म आइपुगेको पार्टीलाई विभिन्न समयमा विभिन्न कोणहरुबाट कमजोर पार्ने प्रयासहरु पनि हुँदै आएका छन्,” ओलीको भनाइ छ, “ती सबै प्रयाशलाई चिर्दै पार्टी यहाँसम्म आइपुगेको छ । अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भइसकेको छ ।

यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कत्र्तव्य हो । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् ।”