मोदीले क्यामेरा देखेपछि रोएको नाटक गरेका हुन् ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इसरो प्रमुख के सिवनलाई आफ्नो अँगालोमा लिएर थपथपाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जब भारतले चन्द्रमामा पठाएको चन्द्रयानको एउटा अंग ‘विक्रम ल्याण्डर’ सम्पर्कबिहीन भयो, त्यतिबेला मोदीले उक्त मिसन प्रमुख सिवनलाई आफ्नो अंगालोमा लिएर शान्त्वना दिएका थिए । यसबीचमा दुवैले आँशु पनि झारे ।

२७ सेकेण्डको यो भिडियो इन्टरनेटमा लाखौँ पटक हेरिएको छ । मोदीका आलोचकहरूले यस भिडियोलाई मोदीको ‘नाटक’का रूपमा व्याख्या गरेका छन् । उनीहरूको दाबी छ, जब मोदीले नजिकै क्यामेरा देखे, तब सिवनलाई ग्वाम्मै अँगालो हालेर रुन थाले ।

भिडियोको पहिलो भागमा मोदीले विक्रम ल्याण्डर सम्पर्कबिहीन भएको सूचना पाए तब अलि टाढै बसेर केही भनिरहेको देखिन्छ । त्यसपछि मोदी आफ्नो ठाउँमा गएर बस्छन् । तर भिडियोको दोस्रो भागमा मोदी जुरुक्क उठेर आउँछन् र सिवनलाई अँगालो हालेर रुन शुरू गर्छन् ।

सामाजिक सञ्जालमा यही कारणले मोदीको आलोचना बढिरहेको देखिन्छ । जब मोदीलाई थाहा भयो त्यहाँ नजिकै क्यामेरा छ, त्यसपछि कपडा फेरेर आए अनि सिवनलाई अँगालो हालेर रुन थाले । तर बीबीसी इन्डियाले भिडियोको पहिलो भाग र दोस्रो भागको बीचमा धेरै नै समय रहेको पत्ता लगाएको दाबी गरेको छ ।

त्यसदिन राति जब विक्रम ल्याण्डर सम्पर्कबिहीन भएको थियो त्यो मोदीले लाइभ हेरिरहेका थिए । पहिलोपटक मोदीले जब त्यो देखे, तब उक्त मिसन प्रमुख सिवनसँग गएर केही भने । त्यसको धेरै समयसम्म टोलीले सम्पर्क स्थापित गर्ने प्रयास गर्यो । तर अन्त्यमा सम्पर्क स्थापित हुन सकेन, सिवनले औपचारिक रूपमा मोदीलाई आफूहरो असफल भएको जानकारी गराए ।

त्यसपछि मोदी उठेर सिवनलाई अँगालो हाले । अनि रुन शुरू गरे । प्रधानमन्त्री मोदीका आलोचकहरूले यस्तो धेरै पटक भएको बताएका छन् । उनीहरूका अनुसार जब मोदीले वरिपरी क्यामेरा रहेको थाहा पाउँछन्, तब हाउभाउ नै अर्कै देखाउन शुरू गर्छन् । तर शुक्रवारको यो घटनामा भने मोदीले ‘नाटक’ नगरेको बीबीसीले बताएको छ ।