संक्रमितको शव व्यवस्थापनमा खटिएका युवती भन्छन्– ‘परिवारसँग खान नपाएको महिनाैं भयो’

गत सोमबार राति सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरका कोरोना संक्रमित ७१ वर्षीय वृद्धको मृ’त्यु भयो । होम आइसोलेसनमै मृ’त्यु भएका उनको शव व्यवस्थापनका लागि आफन्तले प्रहरी र सेनालाई खबर गरे । सेनाको शव व्यवस्थापन टोलीले समन्वयका लागि ‘आरएनए–१६’ का संयोजक अरुण सैंजूलाई अनुरोध गरे ।

मंगलबार बिहान उक्त समूहका मेडिकल हेल्थ पर्सन पुनम कर्माचार्यको संयोजकत्वमा सेनाको इन्द्र बक्स गण सूर्यविनायकको टोलीले शव व्यवस्थापन गर्‍यो । आरएनए–१६ कोरोना संक्रमण रोकथाम र शव व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको समूह हो । कोरोनाबाट मृ’त्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ । मृ’त्यु हुनेको संख्या बढेपछि सेनालाई यो काम गर्न भ्याइनभ्याइ छ । जोखिमपूर्ण मानिएको यो काममा सेनालाई उक्त समूहले सघाएको छ ।

संक्रमितको शव व्यवस्थापनमा उक्त समूहका दुई युवती सँगसँगै खटिएका छन् । भक्तपुर नगरपालिका–४ मंगलाछेंकी २४ वर्षीया कर्माचार्यले मंगलबार मात्र कोरोना संक्रमणबाट मृ’त्यु भएका ४ जनाको शव व्यवस्थापन गरिएको बताइन् । सोमबार एकै दिन ९ वटा शवको व्यवस्थापन गरेको उनी बताउँछिन् । होम आइसोलेसनमा मृ’त्यु भएकाहरूको शव प्लास्टिक वा डेथ बडी ब्यागमा र्‍यापिङ गर्ने काम उनले गर्छिन् ।

पेसाले उनी नर्स हुन् । डेढ वर्षयता आरएनए–१६ मा आबद्ध भई कोरोना संक्रमण रोकथाम तथा शव व्यवस्थापन तालिममा सक्रिय छिन् । कोरोना भाइरसको दोस्रो लहर सुरुसँगै शव व्यवस्थापनमा खटिएको उनी बताउँछिन् । उनीसँगै कोरोनाबाट मृ’त्यु भएकाको शव व्यवस्थापनमा खटिएकी अर्की हुन् भक्तपुर वंशगोपालकी २१ वर्षीया जिया जोशी । उनीहरू भक्तपुर अस्पतालमा कोरोना संक्रमितको सेवामा खटिन्छन् । यी दुईले शव व्यवस्थापनमा लाग्नु समयको माग भएको बताए ।

संक्रमितको मृ’त्यु संख्या बढ्दो छ, शव व्यवस्थापनमा समस्या भइरहेको अवस्थामा सेवा गर्नु हाम्रो कर्तव्य हो,’ पुनमले भनिन्, ‘शव व्यवस्थापनमा लाग्दा सबैले सकारात्मक दृष्टिकोणले हेर्छन्, हामीप्रति समाजले गर्व गर्छ ।’ पीसीआर रिपोर्ट, स्थानीय तहको सिफारिसलगायत मृतकको कागजात मिलाउनेदेखि शव व्यवस्थापनका लागि मृतकको शव र्‍यापिङ गर्ने काम गर्दै आएको उनी बताउँछिन् । पुनम र जिया स्वेच्छाले सामाजिक सेवामा लागे पनि घरपरिवारको पूर्ण सहयोग रहेको बताउँछन् । ‘देश नै डराइरहेको छ, हाम्रा अभिभावक पनि नडराउने कुरा भएन । स्वास्थ्य सुरक्षा अपनाउँदै सेवामा लागेका छौं,’ उनीहरूले भने, ‘परिवारसँग खाना नखाएको महिनौं भइसक्यो ।’

भक्तपुरमा मात्रै दिनको ७/८ जना संक्रमितले ज्यान गुमाउन थालेपछि शव व्यवस्थापनको काममा लाग्ने निर्णय गरेको पुनमले बताइन् । जिया पुनमलाई सघाउँछिन् । कोरोनाको पहिलो लहरदेखि नै जनचेतनामूलक काममा उनीहरू संलग्न थिए । उनीहरू आफैं खटिएका मात्रै होइन संक्रमितको शव कसरी व्यवस्थापन गर्ने भनी स्वास्थ्यकर्मीलाई तालिम पनि दिन्छन् । आरएनए–१६ को टिमले नै भक्तपुरमा शव व्यवस्थापनको काम गरिरहेको पुनम बताउँछिन् ।

‘खासमा शव व्यवस्थापनको काम मेडिकलसम्बन्धी ज्ञान भएका स्वास्थ्यकर्मीहरूले नै गर्नुपर्ने हो तर अहिले स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा नै व्यस्त छन् । त्यसैले हामी लागिपरेका हौं,’ उनले भनिन् ।

पुनमले मंगलबारसम्म कोरोना संक्रमण भई मृ’त्यु भएका २० जनाभन्दा बढीको शव व्यवस्थापन गरिसकेकी छन् । जियाले भने भर्खरै सुरु गरेको उनी बताउँछिन् । ‘मेरो फिल्ड नै यही हो, डर हराइसक्यो । अहिले सेवा गर्ने बेला हो,’ उनले भनिन्, ‘हामीले नगरे कसले गर्छ ? सेनाको समन्वयमा आरएनए–१६ टोलीले शव व्यवस्थापन गर्ने गरेका छौं ।’

आरएनए–१६ का संयोजक अरुण सैंजू, पुनम कर्माचार्य, जिया जोशी, सुदीपराज पाण्डे, रञ्जनराज ढुंगेल, भाया ढुंगेल, पल्लवी सिन्हा, सुशान्त ढुंगेल, स्नेहा सिन्हा, राजेश गाइजू, न्हुज किजु, विनोद क्षेत्री र प्रशान्त लाखेसहित १३ जनाको टोली कोरोना संक्रमण रोकथाम तथा शव व्यवस्थापनमा काम गरिरहेका छन् । संयोजक सैंजू र गाइजूले नेपालमा पहिलोपल्ट कोरोना संक्रमणबाट मृ’त्यु भएकी महिलाको शव व्यवस्थापन गरेका थिए । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको ०७७ जेठ ३ मा धुलिखेल अस्पतालमा मृ’त्यु भएको थियो ।