कोरोना कहर : वीरगञ्ज भन्सार कार्यालयले वैशाखमा साढे ८६ करोड राजस्व गुमायो

मुलुकभर फैलिएको कोरोना भाइरस संक्रमणको दोश्रो लहरको महामारीका कारण राजस्व असुलीमा प्रत्यक्ष प्रभाव परेको छ ।

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि मुलुकभर जारी गरिएको निषेधाज्ञाका कारण वीरगञ्जस्थित भन्सार राजस्व असुलीमा समेत प्रभाव परेको छ । महामारीका कारण पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएसँगै राजस्व संकलनमा असर परेको हो ।

आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्मको राजस्व संकलनमा वीरगञ्ज भन्सार विभागले लक्ष्य प्राप्त गरेतापनि वैशाख महिनामा भने लक्ष्य गुमाएको छ ।

भन्सार विभागले साउन महिनादेखि वैशाख महिनासम्म १ खर्ब ३५ अर्व ९५ करोड २४ लाख १० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । वीरगञ्ज भन्सार कार्यालयले १०३ प्रतिशत अर्थात् १ खर्ब ४१ अर्व १४ करोड ९६ लाख ६ हजार राजस्व संकलन गरेको छ, जुन लक्ष्य भन्दा ३ प्रतिशत बढी रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

तर, निषेधाज्ञा शुरु भएसँगै वीरगञ्ज भन्सार कार्यालयले वैशाख महिनामा पाएको लक्ष्य गुमाएको छ । वैशाख महिनामा वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा ८६ करोड ५६ लाख ४९ हजार कम राजस्व संकलन गरेको छ ।

भन्सार विभागले वैशाख महिनामा ७ अर्व ९ करोड ५४ लाख १८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८७.८० प्रतिशत अर्थात् ६ अर्ब २२ करोड ९७ लाख ७५ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको हो, जुन १२.२० प्रतिशत कम रहेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत शैलेन्द्र अधिकारीले जानकारी दिए ।

२०७७ सालको वैशाखामा पनि कोरोना महामारी र निषेधाज्ञाको काराण वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको २०.६९ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । यस वर्ष पनि कोरोना महामारीका कारण ८७.८० प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।

२०७७ सालको वैशाखमा भन्सार विभागले ६ अर्व ४७ करोड ७९ लाख ४५ हजार रुपैया राजस्व संकलनको लक्ष्य दिएकोमा वीरगंज भन्सार कार्यालयले १ अर्व ३४ करोड २ लाख १२ हजार रुपैया राजस्व संकलन गरेको थियो, जुन लक्ष्य भन्दा ७९.३१ प्रतिशत कम थियो ।

यसैगरि गत २०७७ चैतमा भने वीरगंज भन्सार कार्यालयले लक्ष्यको १३१ प्रतिशत राजश्व संकलन गरेको थियो । भन्सार विभागले चैतमा १५ अर्ब १७ करोड ६७ लाखको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा झण्डै साढे ४ अर्ब बढि अर्थात १९ अर्ब ८७ करोड ९१ लाख रुपैया राजस्व संकलन गरेको थियो ।

तर, वैशाख महिनामा राजस्व संकलन प्रभावित भएसँगै जेठ महिनामा पनि राजस्व संकलन प्रभावित हुने सम्भावना देखिएको छ । कोरोना महामारीको कारण राजस्व बढी संकलन हुने इन्धन र नयाँ सवारी साधनको आयात नै ह्वात्तै घटेका कारणले राजस्व संकलन प्रभावित भएको हो ।

वीरगञ्ज भन्सारका १९ कर्मचारी संक्रमित, एकजनाको मृ’त्यु

कोरोना संक्रमण महामारीकै क्रममा वीरगन्ज भन्सार कार्यालयमा कार्यरत १९ कर्मचारी संक्रमित भइसकेका छन् भने एकजना कर्मचारीको कोरोना संक्रमणबाट मृ’त्यु भएको छ ।

वीरगंज भन्सार कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत कोरोना संक्रमित भई उपचारको क्रममा काठमाडौंमा मृ’त्यु समेत भइसकेको छ भने ९ जना संक्रमणमुक्त भइसकेका छन् । यसैगरि ९ जना अझै अस्वस्थ्य भएर होम आइसोलेशनमा बसेका छन् ।