एमाले मिल्दैन किनकि ओली समस्या हुन् र माधव नेपाल राजनीति गर्न जान्दैनन् !

नेकपा एमालेमा सबैभन्दा ठूलो समस्या भनेको अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओली मात्र हुन् । ओलीले आफ्नो राजनीतिक यात्राका क्रममा प्रारम्भदेखि नै समाजवादी विचारलाई पछ्याएनन् । उनी विचारमा स्पष्ट दक्षिणपन्थी थिए । आफ्नै जीवनको इतिहास कम्युनिष्ट पार्टीसँग जोडिएको कारणले मात्र उनले रातो झण्डा समातेका हुन् ।

केपी ओलीको एक मात्र उद्देश्य थियो, शक्ति हत्याउने । त्यसैले उनले विचार र सिद्धान्त बेगरको गुट बनाउन थाले । ५० को दशकको आरम्भदेखि उनले सुविचारित योजनासहित यो काम थाले । गुटलाई विस्तारै–विस्तारै विकसित गर्दै सिंगै पार्टीमा प्रभुत्व जमाउने उनको योजना थियो । नवौँ महाधिवेशनमा आइपुग्दा उनी सफल भए ।

इतिहाससँग अहिलेको घटनाक्रम किन जोड्न सान्दर्भिक हुन्छ भने अहिले पनि उनी अन्तस्करणबाटै एमाले पार्टीलाई मिलाउने लाइनतिर गएको भनेर विश्वास गर्ने आधारहरू छैनन् । यसअघिका उनका व्यवहारहरुलाई हेर्दा उनको राजनीतिक अभिष्ट, यात्रा र गन्तव्य वामपन्थी आन्दोलनलाई एकजुट पार्नेभन्दा पनि विखण्डन गर्नेतिर सोझिएको देखिन्छ ।

हिजो नेकपा हुँदा होस् वा फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पुरानो ठाउँमा पुगेको एमालेको विषयमा होस्, उनी पार्टीभित्रका अन्तरविरोधलाई विचार, विधि र पद्धतिद्वारा समाधान गर्ने बाटोमा कहिल्यै हिँडेनन् ।

अहिले ओलीलाई केही अप्ठेरो परेको हुन सक्छ । माधव नेपाल समुहका २८ जनालाई छोडेर चुनावमा जाँदा उनको चुनावी मुद्दा र जनमत भड्किन सक्छ । तर, उनले फेरि पनि विश्वासको मत पाउने आधार बनेको छैन ।

समस्या चर्केपछि सम्झौता गर्ने तर सम्झौता कार्यान्वयन नगर्ने नेपाली राजनेताका रुपमा उनले नाम कमाइसकेका छन् । यसकारण एमालेको अहिलेको यो पछिल्लो समझदारीको भविष्य पनि त्यस्तै हुनेछ भन्नेमा कुनै शंका छैन ।

बैशाख २७ मा विश्वासको मत नपाए पनि उनी संसदमा ठूलो दलको प्रधानमन्त्री भए । राजनीतिमा नैतिकताको मूल्य हुन्छ भन्ने ठान्थे भने उनले आफ्नो संसदीय दलको नेता पदबाट बहिर्गमन गर्नुपथ्र्यो । उनको तबेलामा उनी एक्लो घोडा त थिएनन्, त्यहाँ सुवास नेम्वाङहरु पनि थिए । तर, उनले त्यो बाटो नरोज्नु उनको दक्षिणपन्थतिरको यात्राको गुरुयोजनाको कारण थियो ।

अहिले ओलीलाई केही अप्ठेरो परेको हुन सक्छ । माधव नेपाल समुहका २८ जनालाई छोडेर चुनावमा जाँदा उनको चुनावी मुद्दा र जनमत भड्किन सक्छ । तर, उनले फेरि पनि विश्वासको मत पाउने आधार बनेको छैन ।

बेलाबेलामा नेपालको राजनीति भूराजनीतिक संवेदनशीलताबाट पनि प्रेरित हुने गरेका छ । अहिलेको अवस्था हेर्दा पनि त्यस्तै देखिन्छ । प्रधानमन्त्री केपी ओली युटर्न भएका छन् ।

उनले माधव नेपालहरुलाई मिलाउन सके भने जसपाको एउटा हिस्सा उनको पक्षमा आउने सम्भावना रहन्छ । यसो हुँदा उनको नेतृत्वको सरकार बाँकी अवधि चल्न सक्छ । यसैले अहिले बनिरहेको समझदारीको भविष्य र आयु बढीमा विश्वासको मत नलिउन्जेलसम्म मात्र रहने स्पष्ट छ ।

विश्वासको मत प्राप्त भएन भने चुनावमा जाने नै उनको बाटो स्पष्ट छँदैछ । प्रधानमन्त्री ओलीजीले फेरि पनि विश्वासको मत पाएनन् र फेरि पनि सरकार उनकै नेतृत्वमा बन्यो भने नेपाली लोकतन्त्रका लागि योभन्दा ठूलो विडम्बना के होला ? अहिले मुलुकमा चर्को आवाजमा नैतिक र संवैधानिक प्रश्नहरु उठिरहेका छन् । यसको सही उत्तर प्रधानमन्त्री ओलीसँग छैन । यी सबै कुराहरूले त्यति धेरै खटपट नगरौं भनेर पार्टी मिलाउन खोजेको त होला । तर, यस्ता अभ्यासहरू हिजो पनि भएकाले ओलीजीले पार्टी मिलाइहाल्नुहुन्छ भनेर विश्वास गर्न सकिँदैन ।

पुरानै विवाद

माले कालमा पनि विवाद थिए । २०३९ सालमा राजनीतिक स्वतन्त्रता र पार्टी स्वतन्त्रताको विवाद थियो । सीपी मैनालीले पार्टी स्वतन्त्रताको झण्डा उठाएका थिए । त्यसबेला ठूलै हेरफेर भयो । सीपीलाई हटाएर झलनाथलाई महासचिव बनाइयो । पछि चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव बनायो । त्यो घट्ना हेर्दा राजनीतिक जस्तो देखिएपनि दुवै किसिमका विचारहरु गहिराइमा थिएनन् ।

बेलाबेलामा नेपालको राजनीति भूराजनीतिक संवेदनशीलताबाट पनि प्रेरित हुने गरेका छ । अहिलेको अवस्था हेर्दा पनि त्यस्तै देखिन्छ । प्रधानमन्त्री केपी ओली युटर्न भएका छन् । जतिबेला भारतले नाकाबन्दी गर्यो त्यसबेला उनी चर्को भारतविरोधी देखिएका थिए । त्यहीबेला उनले चीनसँगका थुप्र रणनीतिक महत्वका सन्धी सम्झौता गरे । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको भाइचारा सम्बन्ध गज्जबको अवस्थामा पुग्यो । जब नेकपाभित्र अन्तरविरोध बढ्दै गयो, चिनियाँ मित्रहरुले अध्यक्ष वा प्रधानमन्त्रीमा एक पद् छोड्न सल्लाह दिएपछि उनी भड्किए र दक्षिणका मित्रहरुको पाइलट प्रोजेक्टका पार्थसारथी बन्ने बाटोमा लागे ।

दक्षिण र उत्तरको फरक

हाम्रा दुई छिमेकी छन् दक्षिण र उत्तरका । यी दुइ छिमेकका फरक फरक कुटनीतिक पाटा छन् । धेरैजसो उत्तरले नेपाली जनताको निर्णयलाई आन्तरिक मामिला भनेर मानेको देखिन्छ तर दक्षिण भने कहिलेकाहीँ जनताको निर्णय उल्टाउने स्थितिमा पुगेको पनि देखिन्छ ।

उदाहरणकै लागि संविधानको कुरा लिउँ । पहिलो पटक नेपाली जनताले आफ्नो संविधान आफैंले बनाउन लागे । तर, भारतलाई पचेन । भलै यो संविधानको स्वामित्व सबै नेपालीले लिएका छैनन् । तर यो उसको टाउको दुखाइको विषय थिएन । तर, यो संविधान दक्षिणले मन पराएन ।

त्यसकारण ओलीजीको कोर्ष के पनि हुनसक्छ भने यो संविधान दक्षिणले मन नपराएका कारण यसलाई समाप्त पार्ने र नयाँ किसिमको राजनीतिक भ्याकुम सिर्जना गर्ने । जस्तो–चुनावको घोषणा गर्ने, तर चुनाव नगर्ने । त्यसपछि त्यो भ्याकुममा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने । प्रधानमन्त्री ओली र पुराना दरबारियाहरुको हिमचिम हेर्दा यो बाटोतिर मुलुकलाई लान खोजेको भनी शंका गर्ने प्रशस्त ठाउँ छ ।

मैले ओलीजीलाई धेरै राम्ररी चिनेको छु । उनीसँग लामै समय काम गरेको र नजिकबाट अनुभव गरेको नाताले पनि भन्छु ः उनले आफ्नो नेतृत्वमा एमाले पार्टीलाई मिलाएर एकजुट पार्लान् जस्तो लाग्दैन । उनले संविधानलाई अहिले नै धेरै ठाउँमा भत्काइसकेका छन् । विश्वासको मत लिनुपर्ने बेलामा नलिने र नलिनुपर्ने बेलामा लिने । उदाहरण अरु धेरै छन् । यसबाट प्रधानमन्त्रीको गुरु योजनामा संविधानलाई सिध्याएर पश्चगमनको बाटो समात्ने रहेको स्पट हुँदैन ?

ओलीको भन्दा माधवको भूमिका बढी

केपी र माधवबीच सानोतिनो इगोले पनि काम गरेको हुन सक्छ । किनभने एमालेको छैठौं महाधिवेशनका बेला महाकाली सन्धीका बेला उनीहरु एकै ठाउँमा थिए । दक्षिणतिर बढ्न ओलीलाई भर्याङ्ग बनाइदिने जुन काम भएको छ, त्यो माधवले नै हो जस्तो लाग्छ । पछि केही इगो पनि आयो होला, इगो आउनु स्वाभाविक पनि हो ।

पार्टी निर्माणमा ओलीको भन्दा माधवकै धेरै भुमिका छ । ओलीजी लामो समय जेलमै रहे । उनको त जेलको सर्टिफिकेट मात्रै हो । पार्टी र संगठन बनाएको, दुःख गरेको त माधवलगायतका नेताहरुले नै हो । जसको नेतृत्व सेकेन्ड मेन भए पनि माधवले नै गरेको हो । यो काममा त माधवलाई ठूलै जस दिनुपर्ने हुन्छ । मैले त्यसो गरेको भनेर माधवले भन्नु स्वाभाविक हो ।

नवौं महाधिवेशनमा पनि त्योखालको इगो देखिन्थ्यो । दुवै पक्षमा कुनै राजनीतिक बहस नहुने खाली विचार समूह भन्ने र विचार चाही केही नहुने देखिएकै हो । व्यक्तिगत रुपमा अध्यक्ष पद लिनुभनेको पनि सत्तासीन हुनु नै हो । तर, योभन्दा पनि राजनीतिक हीनता मूल समस्या नै हो । यसलाई मार्क्सवादीहरुले विसर्जनवाद भन्छन् । त्यसैले विसर्जनवादतिर गएको भनेर बुझ्दा पनि हुन्छ ।

मिलनविन्दु नै खोज्ने हो भने जे भए पनि ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पदमा छन् । उनको दुवै हातमा लड्डु छ । एउटा लड्डु पनि दिनु परेको छैन । खाली पुरानो २०७५ को जेठ २ को स्टाटस मान्न भनेको न हो । यसका लागि फागुन २३ पछि ओलीजीले पार्टीमा जेजे फोहोर गरेका थिए, त्यो फोहोर पनि माधव पक्षले लिन्छु नै भनेको सुनिन्छ । यो कुरामा ओली माने भने मिलनबिन्दु भेटिएला । तर, ओलीजीको स्वभाव, विचार सिद्धान्त र डिजाइन हेर्दा मिल्ला भन्ने विश्वास गर्न सकिँदैन ।

जान्दैनन् माधव राजनीति गर्न

माधव नेपालमा राजनीतिक सुझबुझको कमी देख्छु । जुनबेला अदालतले पार्टी फुटायो, त्योबेला राजनीतिक अडान लिन सक्नुपथ्र्यो । किनभने, अदालतले पार्टी फुटाउनै मिल्दैन ।

त्यसबेला उनले अदालतको फैसला जस्तो भए पनि हामी एकताको पक्षमा छौं, पार्टीको नाममात्र बदलेर फेरि निर्वाचन आयोगमा जान्छौं भनेर माओवादीसँग मिलेर जानसक्नुपथ्र्यो । त्यसो गरेको भए राजनीतिको बाटो नै अर्कै हुन पुग्थ्यो । तर, उनी चुनाव चिन्ह सूर्यतिर मोहित भए । पहिला त राजनीति चाहियो, त्यसपछि चुनाव चिन्ह हो चाहिने ।

(विश्लेषक ढकालसँग गरेको कुराकानीमा आधारित)