एक आमाको चित्कार– मेरो कोख बचाइदिनुस् डाक्टर साब !

शस्त्र प्रहरी अस्पताल सतुंगलका डाक्टर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रोशनकुमार झा कोरोनाका बिरामीको अवस्था बुझ्न बेडतर्फ जाँदै थिए ।

डा. झालाई देखेर रामेछापकी शान्ता (नाम परिर्वतन) उनी नजिक आइन् । उनले आफ्नो छोरालाई जसरी भएपनि बचाइदिन आग्रह गरिन् । मेरो कोख बचाइदिनुस्, डाक्टर साब ती आमाको अनुनय सुनेपछि डा. झाले सान्त्वना दिए, केही हुँदैन त्यस्तो अवस्थाबाट त फर्काएका छौं निको हुन्छ आत्तिनु पर्दैन उनलाई हौसला दिँदै सम्झाए ।

उनले बारम्बार दोहोर्‍याइरहिन् मेरो कोख बचाइदिनुस् डाक्टर साब आफ्नो छोराले खाना पनि नखाएको कुरा उनले सुनाइन् । छोराले केही खान मान्दैन । हजुरले अलि सम्झाइदिनुपर्‍यो शान्ताले आग्रह गरिन् । डा. झा उनको छोरा भएको ठाउँमा गए । १९ वर्षका छोरा रोहित (नाम परिवर्तन) बोल्न सक्दैनथे । डाक्टरलाई देखेपछि मुसुक्क हाँसे ।

आमासँग कापी र कलम मागे । ‘म कहिले कोरोनाको खोप लगाउन सक्छु ?’ लेखेर प्रश्न सोधे । लिखित प्रश्नको जवाफमा डा. झाले बोलेरै भने आफ्टर ३ विक्स (अबको तीन हप्तापछि) लगाउन मिल्छ । त्यसपछि उनले डाक्टरलाई कानैमा केही भन्न खोजे, तर सकेनन् ।

शायद उनलाई डाक्टरसँग धेरै सोध्न मन थियो तर घाँटीबाट पाइप लगाएर खाना खुवाएका कारण उनी बोल्न सकेका थिएनन् । डाक्टर झाले भने, ‘उहाँलाई नाक र घाँटीबाट पाइपको माध्यमले खाना दिइएको थियो, त्यसैले बोल्न सक्नुहुन्न । रोहितले आमातिर पुलुक्क हेरे । आमाले उनको हेराइबाटै कुरा बुझेर कामी र कलम दिइन् ।

उनले अर्को प्रश्न कापीमा लेखे, ‘मलाई मासु मन पर्दैन । स्टामिना बढाउनका लागि मैले के खाने ? तपाईं भेजिटेरियन भए पनिर खानुस् । फलफूल खानुस् । फ्रेस जुस खानुस्,’ डा. झाले बोलेरै जावाफ दिए । थोरै मुस्कुराएर रोहितले ‘हवस्’ भन्ने संकेत गरे ।

रोहितकी आमाले मासु खाँदैन, अरू त खुवाएकी छु डाक्टर साब भनिन् । डा. झाले नआत्तिन आग्रह गर्दै केहीबेर सम्झाए । शायद त्यसपछि उनको मन शान्त भयो । उनी छोरालाई सुम्सुम्याउँदै बसिन् । उनले २०७२ सालको विनाशकारी भूकम्पमा छोरी गुमाएकी रहिछन् । कोरोनाले छोरोलाई केही हुन्छ कि भन्ने चिन्ता उनलाई छ ।

आमाको मन न हो, छोराछोरीलाई सानो चोट लाग्दा त सहन गाह्रो हुन्छ । १५ दिन अगाडि सशस्त्र प्रहरी अस्पताल आएकी शान्ता रोहितलाई २ चोटी आईसीयू भेन्टीलेटरमा राख्नु परेकाले धेरै डराएकी रहिछन् । २/२ चोटी आईसीयूमा राखेर ल्याएको सन्तानको नाममा यही एउटा छोरा छ,शान्ताले भनिन्, ‘आश मरेको थियो, डाक्टरसा’बहरूले बचाइदिनुभयो ।’

कोरोना संक्रमणका कारण फोक्सोमा धेरै क्षति पुगेकाले रोहितलाई पछिल्लो समयमा मात्रै २ पटक भेन्टीलेटरमा राखेर उपचार गर्नुपरेको डा. झाले बताए । उनी अहिले कोरोना संक्रमणमुक्त भइसकेका छन्, तर कोरोनाले फोक्सोमा पुर्‍याएको क्षति रिकभर हुन समय लाग्ने अवस्था छ ।उनलाई डिस्चार्ज गर्न अझै केही दिन लाग्ने डा. झाले बताए ।