लमजुङमा ३ घण्टाभित्र ३ भूकम्प, ‘जाने क्रम जारी छ, सजग रहनू’

राष्ट्रिय भूकम्प मापन केन्द्रले लजमजुङमा भूकम्प (परकम्प) जाने क्रम जारी रहेकाले सजग रहन स्थानीय बासिन्दालाई आग्रह गरेका छ।

केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेनदेखि ८ बजेर २६ मिनेटसम्म ४ म्याग्निच्युडभन्दा माथिका २ पल्ट र ४ म्याग्निच्युडको भूकम्प एकपल्ट गइसकेका छन्। तीन पटककै भूकम्प लमजुङको भुलभुले भन्ने स्थानकै आपसाप भएर गएको उनले जानकारी दिए।

उनका अनुसार सुरुमा ५ बजेर ४२ मिनेटमा ५.८, त्यसपछि ८ बजेर १६ मिनेटमा ४ र ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडका भूकम्प गएका हुन्। ‘४ म्याग्निच्युडभन्दा मुनिका परकम्प अहिले पनि गइरहेका छन्, केही समय जाने क्रम जारी रहन सक्छ,’ उनले भने, ‘त्यसैले त्यस आसपासका बासिन्दाले सजगता अपनाउन जरुरी छ।’

४ म्याग्निच्युडभन्दा माथिको भूकम्प जाने सम्भावना छ कि छैन भन्ने प्रश्नमा भूकम्पविद् अधिकारीले भने, ‘हेर्नुस्, भूकम्पको पूर्वानुमान गर्न सक्ने प्रविधि अहिलेसम्म बेनको छैन, गइसकेपछि मापन गर्ने मात्र हो, त्यसैले ठूलो भूकम्प जान सक्छ कि सक्दैन भनेर भन्न सकिने कुरा होइन।’ त्यसैले भूकम्पप्रति हामी सधैं सजग रहन जरुरी हुने उनले बताए।