नेपाली बाँसका सामानहरूको माग बढी, उत्पादन कम

काठमाडौं । अघिल्ला वर्षको तुलनामा यस आवमा बाँसका सामानको उत्पादन कम भयो । यसल निर्यातमा पनि कमी आएको छ ।

गुणस्तरीय बाँसको अभावका कारण उत्पादन कम भएको हिमालय ब्याम्बो प्रालिका व्यवस्थापक प्रणव प्रधान बताउँछन् । उनले गत वर्ष एक करोड रुपैयाँ बराबरको बाँसका सामग्री निर्यात गरेका थिए यो वर्ष ५० लाख रुपैयाँको मात्र निर्यात हुन सक्यो । चीन र भारतको तुलनामा नेपाली बाँसका सामानहरू गुणस्तरीय छन् र विदेशमा यसको माग धेरै छ ।

तर बाँसलाई गलत तरिका र उमेर नपुगी जथभावी काटेका कारण बाँसको गुणस्तर खस्कँदै गएको प्रधानको भनाइ छ । ३ देखि ५ वर्षमा बाँस काट्न लायक हुने भएकाले यो आम्दानीको राम्रो स्रोत बन्न सक्ने वन मन्त्रालय, योजना महाशाखाका प्रमुख डा। अन्नपूर्ण प्रसाद दास बताउँछन् । तर यसको महत्व र गुणस्तरलाई ध्यान नदिँदा उचित प्रतिफल प्राप्त हुन नसकेको उनले बताए ।

बजारमा अहिले एउटा बाँसको मूल्य सयदेखि २ सय रुपैयाँसम्म पर्छ । हिमालय ब्याम्बोले बाँसका पार्केट, फर्निचरहरू, सोफासेट, रेस्ट चियर, दराज टी टेबल निर्यात गर्दै आएको छ । अमेरिका, हल्यान्ड, बहराइन, रसिया, जापानलगायतका मुलुकमा बाँसका सामग्रीले राम्रो बजार पाउँदै आएका छन् । पार्केट तथा फर्निचरका साथै बाँसबाट निर्मित हस्तकलाका सामग्री पनि नेपालबाट निर्यात हुने गरेको छ ।

बाँसका झोला, बुक कभर, बाँसुरी, हेयर ब्यान्ड, ह्यान्गर, टोपी, संगीतका सामग्र आदि निर्यात हुने गरेको छ ।