माथिल्लो तामाकोशीले थेग्न सकेन उद्घाटनको दबाब, ‘म्यानहोल’बाट चुहियो पानी

परीक्षणका क्रममा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङभित्र राखिएको पेनस्टक पाइपमा चुहावटको समस्या देखिएको छ । तीव्र सरकारी दबाबका कारण छिटो काम सक्न खोज्दा दक्षता र गुणस्तर नपुगेकाले अहिले पेनस्टक पाइपकै भागमा समस्या देखिएको आयोजनाका प्राविधिकहरुको निष्कर्ष छ ।

प्राविधिकहरुका अनुसार उद्घाटनका लागि छिटो काम सक्न गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र ऊर्जा मन्त्रालयबाट तीव्र दबाब थियो । त्यसअनुसार हतार-हतार काम सक्नेतर्फ जोड दिंदा आयोजनाको सबैभन्दा संवेदनशील र जटिल भागमै समस्या निम्तिएको हो ।

गत वैशाख १६मा सुरुङमा पानी हालेर परीक्षण शुरु गर्नासाथ पेनस्टकको ‘म्यानहोल’मा चुहावट हुने समस्या देखिएको थियो । ६०० मिटरको हेडसम्म पानी हालेर प्रेसर दिंदा चुहावट देखिएपछि आयोजनाले मर्मत नगरी सुरुङ भर्न नहुने निष्कर्ष निकालेको थियो ।

समस्या परेको जानकारी हुँदाहुँदै पनि परीक्षण उत्पादन थालिहाल्न आयोजनामाथि दबाब कायमै थियो । तर, समस्या जटिल हुने देखेपछि आयोजनाका अधिकारीले नकारेका थिए ।

यो आयोजनामा गत माघमा भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले आवश्यक उपकरण ल्याउन ढिलाइ हुने बताएपछि डिजाइन नै फेरेर चैतभित्रै परीक्षण उत्पादनको योजना बनाइएको थियो ।

‘डिजाइन परिवर्तनका कारण समस्या देखिएको चाहिं हैन, उद्घाटनका लागि छिटो काम सक्ने दबाब दिइएका कारण ध्यानपूर्वक भन्दा बढी बलपूर्वक काम भयो,’आयोजनाका एक अधिकारी भन्छन्,’हतारको कामले वर्क म्यानसिप कमजोर हुँदा लिकेज देखिएको हो ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनाको सुरुङ र पेनस्टक पाइपमा सामान्य समस्या देखिएको बताउँछन् । समस्या समाधानका लागि काम भइरहेको उनले बताए ।

दुई ठाडो सुरुङ जोड्ने पेनस्टक पाइपको ‘म्यानहोल’मा चुहावट देखिए पनि मर्मतको काम धमाधम भइरहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । ‘शुक्रबारसम्म मर्मत सिध्याउने लक्ष्य छ’, उनले भने ।

भारतीय ठेकेदारको भर परेको भए आवश्यक उपकरण ल्याउन नै तीन महिना समय लाग्ने देखिएपछि डिजाइन परिवर्तन गर्नुपरेको उनले स्पष्ट गरे ।आयोजनाका एक वरिष्ठ प्राविधिक भने बनिनसक्दै समस्या देखिनुले आयोजनामा भविष्यमा जुनसुकै बेला समस्या पर्नसक्ने जोखिम देखिएको बताउँछन् ।

‘स्वदेशी लगानीमा बनेको यति ठूलो आयोजनामा यसैपनि धेरै ढिलाइ भएको थियो, अन्तिम केही महिनामा दबाबविहीन ढंगले काम गर्न दिएको भए हुने थियो’ उनले भने,’मेलम्चीको सुरुङमा भएको दुर्घटनालाई बिर्सिएर उद्घाटनका लागि दबाव बढाउँदा भविष्यमा यो आयोजनामा समेत जतिबेला पनि दुर्घटना हुनसक्ने डर रह्यो ।’

वर्षौंसम्म चल्ने प्लान्टमा हुने हरेक काम गुणस्तरीय हुनुपर्ने भन्दै ती प्राविधिकले सरकारले दिएको दबाबले अन्तिम समयमा भएको कामको विश्वसनीयताबारे आयोजना आफैं विश्वस्त हुन नसकिरहेको बताए ।

विकास परियोजनामा नयाँ राजनीतिक विकृति : पूर्वतयारी नसक्दै शिलान्यास, काम नसक्दै उद्घाटन

काम नै नसकिएपछि चैत मसान्तमा उद्घाटन गर्ने सरकारी योजना तुहिएको थियो । वैशाख २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति सार्वजनकि रुपमै असन्तुष्टि पोखेका थिए ।

नापी विभागको अनलाइन सेवा तथा ‘मेरो कित्ता’ एप सार्वजनिक गर्दै उनले अत्यन्तै अस्वाभाविक ढंगले माथिल्लो तामाकोशीको काममा ढिलाइ गरिएको बताएका थिए । ‘मैले यसप्रति चासो, रुचि बढाउनुपर्ने देखेको छु ।

त्यो ढिलासुस्ती अस्वाभाविक छ’ ओलीले भनेका थिए, ‘तीन वर्षदेखि म एउटै कुरा सुनेको छु, एउटा सानो मेसिन जडान गर्न छ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड नोक्सान भइराखेको छ, परोक्ष भन्दा दैनिक १३ करोड नोक्सान भइरहेको छ । यो ढिलासुस्ती हो वा अरु केही हो हेर्न पर्ने भएको छ । यस्तो ढिलासुस्ती अब मान्य हुँदैन ।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि प्राधिकरण र आयोजना थप दबाबमा आएको थियो । गत वैशाख १६ गतेबाट आयोजनाको सुरुङमा पानी भर्न थालिएको थियो । सुरूङमा पानी भर्न थालेको अवसरमा स्विच थिच्न दुई जना विभागीय मन्त्री दोलखाको लामाबगर पुगेका थिए । तर, आयोजनाको पावरहाउससँगै रहने पेनस्टक पाइपमै समस्या देखिएपछि सुरुङमा अझै पानी भर्न सकिएको छैन ।

आयोजनाका अनुसार समस्या नआएको भए जेठको १५ गतेबाट आयोजनाले परीक्षण थाल्न सक्थ्यो । ‘अब समस्याहरु समाधान गर्दै परीक्षण अघि बढाउँछौं’ ती प्राविधिक भन्छन्,’दबाबमा परेर आयोजनालाई थप जोखिममा धकेल्न हुन्न भन्नेमा हाम्रो जोड छ । सुरूङको हाइड्राेमेकानिकल गेटहरू जडानमा पनि हतारमा काम भएकाले के हुन्छ भन्न सकिन्न ।