स्वीजरल्याण्डबाट शनिबार नेपालमा स्वास्थ्य सामग्री आइपुग्ने

काठमाडौं । स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागेको जानकारी दिइन् । राजदूत क्यापिलरका अनुसार, स्वीजरल्याण्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो ।

स्वास्थ्य सामग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिइन् । चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सदभाव देखाएकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित अमेरिकी राजदूत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकसँग सहयोगका लागि अपील गरेका थिए । नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् सहयोगका लागि कुटनीतिक पहल गरिरहेको छ ।