छोरो बोल्ने आशमा शुक्रराजमा पर्खिरहेका एक बाबुको एउटै मात्र इच्छा छ छोरा निको भएर बोलावस

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको परिसरमा सोमबार मानिसहरू यताउता ओहोरदोहोर गरिरहेका छन् । कोही भने उभिएर केही होला जस्तै गरी रमिता हेरेर उभिएका छन् । धेरै संक्रमितहरू बेड नपाएकाले भुइँमा सुतेर र फलामकै बेञ्चमा बसेर भएपनि प्राण वायु मुखमा लगाएका छन् ।

अस्पतालमा भएका सबैको मुहारमा भएको हाँसोलाई हरियो सानो मास्कले छेकेको छ । लाग्छ त्यहाँ भएका सबै मानिसहरू आँखाले हाँसिरहेका छन् । कोही भने लखतरान भएर पल्टिरहेका छन्। हेर्दा लाग्छ त्यहाँ ,’ अस्पतालमा ठूलो विपत्ति आइपरेको छ र सबै त्यहीँ हेर्न बसेका जस्ता छन् ।

त्यहीँ भिड भन्दा अलग्गै थकित र निराश मुद्रामा एक वृद्ध अस्पतालको फुलबारीमा बसिरहेका छन् । उनी दक्षिण काठमाडौँ चन्द्रागिरी नगरपालिकाका ६३ वर्षीय कमल परियार हुन् । हातमा भएको दुई वटा मोबाइल हेरिरहन्छन्, उनको नजर घरिघरि अस्पतालको इमर्जेन्सीतर्फ तेर्सिन्छ ।

उनी दुई दिनदेखि राम्रोसँग निदाउन पाएका छैनन् । आँखा मलिन छ । यतिखेर प्रकृति क्रुद्ध भएको छ । नेपालदेखि विश्वलाई नदेखिने कोभिडले घेरेको छ । सायद त्यसैको निशानामा परेर उनी अस्पताल आएका हुन सक्छन् ।

उनको बसाइ अस्पतालमा छ । अस्पतालको बसाइ कहिलेसम्म लम्बिने हो त्यो पनि उनलाई थाहा छैन । अस्पताल किन आउनु भएको भन्ने प्रश्न खस्न नपाउँदै उनले जवाफ फर्काए,’ छोरालाई एक्कासी गाह्रो भएपछि हिजोदेखि अस्पतालमै बसिरहेको छु ।’

छोरालाई जति छिटो निको हुन्छ उनको अस्पताल बँसाइ पनि छोटिन्दै जानेछ । उमेरले ६ दशक काटेका कमल यतिखेर छोराको सहारा भएर अस्पतालमा कुरुवा बसेका छन् । एउटा भनाइ छ, बुढेसकालको सहारा छोरा हुन्छ ।’ तर कमलको जीवनमा ठिक विपरीत भएको छ । कोभिड महामारीले गर्दा उनी छोराको सहारा भएर बसेका छन् ।

‘छोराको नजिक जान मन छ’

अब उनको एउटै मात्र इच्छा छ,’छोराको निको भएर मलाई बोलावस भन्‍ने छ ।’ कमललाई छोराको नजिक जान मन छ कोभिड सर्ने त्रासमा उनी टाढाबाट छोरालाई हेर्न बाध्य छन् ।

यतिखेर उनको ३७ वर्षीय छोरा जयराम मुखमा अक्सिजन माक्सको सहारामा अस्पतालको इमर्जेन्सी गेटैमा बसिरहेका छन् । एक साता अघि देखि टाउको दुखेपछि घरमै उनी सिटामोल खादै बसे । मेडिकलबाट ल्याएको औषधिले ठिक नभएपछि सामान्य ठानी घरेलु उपचार गरी परिवारले बिसेक पार्ने कोशिश गरे ।

परिवारको कोशिश दिनप्रतिदिन झन विफल हुदै गयो । परिवारले जयरामलाई घरमै उपचार गरी सन्चो बनाउने कोशिश गरे तर त्यसको विपरीत अझ उनको शरीरलाई धेरै गाल्दै लग्यो । गाह्रो भएपछि कमललाई परिवारले चन्द्रागिरी नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा लगे ।

‘नगरपालिकाले गरेको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आयो,’ ६३ वर्षीय जयरामको बाबा भन्छन,’ रिपोर्ट नेगेटिभ आए पनि गाह्रो भएकाले राती नै अस्पताल ल्याएको हुँ ।’

कमललाई देखिएको लक्षण कोभिड सँग मिल्दोजुल्दो लक्षण छ । उनको शरीरमा अक्सिजनको लेभल पनि कम छ । अस्पतालमा भर्ना भएदेखि उनलाई अक्सिजन दिएर राखिएको छ ।

नगरपालिकाको आइसोलेसनमा राख्दा पनि छोराको स्वास्थ्यमा सुधार नआएपछि नगरपालिकाले अस्पताल ल्याउने व्यवस्था गरेकाले यता उपचार गर्न ल्याएको कमल बताउँछन् । ‘हिजो भन्दा स्वास्थ्यमा केही सुधार आएको छ,’ उनले भने,’ तर एक्सरे गर्दा फोक्सोमा असर गरिसकेको छ ।’

कोभिड नेगेटिभ भएपनि पुनः परीक्षण

शुक्रराजमा ल्याएपछि कमलको पुनः पीसीआर परीक्षण गरिएको छ । रिपोर्टको पर्खाइमा कमलसहित जयरामको श्रीमती पनि छिन् । छोरालाई कोभिड भए पनि परिवारमा कसैलाई लक्षण नदेखिएको उनले बताए ।

सन्तानको मायाले अभिभावकलाई डोर्‍याउँछ भनेझै कमललाई डोर्‍याएको छ । दिनप्रितदिन कोभिडको संक्रमित र मृत्युदरको ग्राफ उकालो लागिरहेको छ । ‘घरमा श्रीमतीलाई एक्लै छाडेर आएको छु, सन्तानको यति धेरै माया लाग्दो रहेछ भन्ने अहिले महसुस भइरहेको छ,’ उनले आँशु पुछ्दै भने ।

जयराम घरको एक्लो छोरा हुन् । उनको दुवै दिदीहरूको बिहे भइसकेको छ । घरमा साना-साना दुई नातीहरू रहेको उनले बताए । उनको खाद्यानन पसल छ । कोभिड संक्रमण बढेपछि उपत्यकामा निषेधाज्ञा जारी भएपछि पसल बन्द भएको छ ।

संक्रमितलाई बाहिर राखी उपचार

संक्रमितको शरीरमा अक्सिजन अभाव भएकाले अस्पतालमा भर्ना हुनेको संख्या बढेको अस्पतालका निर्देशक डा.सागर कुमार राजभण्डारी बताउँछन् । उनका अनुसार अस्पतालको आइसीयू, भेन्टिलेटर,परिसर तथा भित्र बाहिरी गरेर १ सय १४ संक्रमितको उपचार भइरहेको छ । केही संक्रमितलाई बाहिर राखी उपचार गरिएको छ ।

सामान्य उपचार गर्दा ठिक हुनेलाई अन्य आइसोलेशनमा पठाउन थालिएको उनले बताए । बेड व्यवस्थापनमा केही सहज भएको उनको भनाइ छ । अस्पतालमा संक्रमित घट्दै गएपनि आईसीयू र भेन्टिलेटर खाली नरहेको उनले बताए । भर्ना भएका सबै संक्रमितहरू गम्भीर प्रकृतिका रहेको उनले प्रस्ट पारे ।