नेता नेपालले गृहमन्त्री थापालाई भने- ‘तपाईंलाई सहयोग गर्न सक्दिन’

काठमाडौं : सत्तारुढ नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभाको उपनिर्वाचनमा सहयोग गर्न नसक्ने बताएका छन्।

मंगलबार दिउँसो सहयोगको आग्रह गर्न वरिष्ठ नेता निवास कोटेश्वर पुगेका एमालेकै उम्मेदवार थापालाई नेपालले सहयोग गर्न नसक्ने बताएको नेपालको निजी सचिवालयले जनाएको छ। बिहीबार बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको तर्फबाट थापा उम्मेदवार बनेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले उम्मेदवारी दर्ताको समयमा अन्य दललाईसमेत सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएको भन्दै उनका विरुद्ध अन्यथा गर्न नसक्ने बताएका हुन्।

दिउँसो भएको वार्ताको विषयमा विज्ञप्ति सार्वजनिक गर्दै उनको सचिवालयले यस्तो बताएको हो। नेता नेपालले डा. देवकोटाको उम्मेदवारीको विषयमा अन्यथा गर्न नसक्ने बताएपछि थापाले भने मतदातालाई स्वविवेक प्रयोग गर्न भनौँ भन्ने प्रस्ताव गरेको सचिवालयले जनाएको छ। थापाको उक्त प्रस्तावमा भने नेपाल सहमत भएका छन्। ‘आज कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार

बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो’, नेपालको सचिवालयले सार्वजनिक गरेको प्रेस नोटमा भनिएको छ, ‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो। मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ।’ वरिष्ठ नेता नेपालको सचिवालयले कतिपय मिडियामा थापालाई मतदान गर्ने सहमति भएको भन्दै सार्वजनिक खबरको भ्रममा नपर्न अनुरोधसमेत गरेको छ। ‘कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन।

भ्रममा नपर्न सबैलाई अनुरोध छ’, वरिष्ठ नेता नेपालको सचिवालयबाट मोहन गौतमले सार्वजनिक गरेको प्रेस नोटमा थप भनिएको छ।यसअघि गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले वार्ता सकारात्मक भएको बताएका थिए। ‘भेटवार्ता पार्टीको आन्तरिक विषय र जेठ ६ गते हुनगइरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रित रहेको थियो। भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो’, भेटपछि थापाका प्रेस संयोजक भट्राईले फेसबुकमा लेखेका छन्, ‘भेट सकारात्मक रहेको उहाँको भनाइ छ।’

एमालेले गृहमन्त्री थापालाई बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदावार बनाएको छ। एमाले भित्रको विवादका कारण नेपाल समूहसहित प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा (माओवादी केन्द्र)को गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। नेता नेपाल र अध्यक्ष ओलीबीच पार्टी एकताको विषयमा सहमति भएर कार्यदलसमेत बनिसकेपछि थापा उपचुनावमा सहयोग माग्न वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेका हुन्। एमालेले उपनिर्वाचन‍मा थापालाई मतदान गर्न ह्वीप जारी गरेको छ।

सोमबार एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिँदै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उप्रमुखका पत्र पठाएका हुन्।