अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिमा एमाले कार्यदलको आह्वान

नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको नेता भीम रावलले जानकारी दिए ।

‘पार्टीमा देखिएको समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग, सद्भावका लागि आग्रह गरेको छ,’ बैठकपछि रावलले भने, ‘त्यसका साथसाथै पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको छ ।’

बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको पनि नेता रावलले बताए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

ता माधवकुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । तर, काम विशेषले गर्दा आजको बैठकमा नेता पोखरेल र पौडेल सहभागी हुन नसकेको रावलले बताए । बैठक बुधबार पनि बस्ने भएको छ ।