घरघरै बिरामी, परीक्षण छैन

रामेछापको ग्रामीण भेगमा कोरोनासँग मिल्दो लक्षणले सयौं बिरामी परेका छन् । रुघाखोकी, उच्च ज्वरो र जीउ दुख्ने समस्या भएका बिरामी घरपिच्छे छन् । स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कर्णले जिल्लाका अधिकांश भागमा कोभिडसँग मिल्दो लक्षणका बिरामी धेरै रहेको जानकारी आएको बताए ।स्वास्थ्यकर्मी र स्थानीयले यसबारे जिल्ला स्वास्थ्यमा जानकारी गराए पनि शंकास्पद बिरामीको परीक्षण र उपचार गर्न सकिएको छैन ।

जिल्लामा पीसीआर परीक्षणको सुविधा छैन । यहाँबाट धुलिखेल, सिन्धुली र दोलखामा पठाएका स्वाबको रिपोर्ट तीन दिनपछि आउने गरेको छ । स्वाब परीक्षणका लागि दिएका शंकास्पद पनि नतिजा नआउँदासम्म सुरक्षित स्थानमा नबस्ने भएकाले संक्रमण फैलने जोखिम बढी छ । ‘संक्रमितहरू नै आइसोलेसनबाट भागेको गुनासो आउन थालेको छ,’ कर्णले भने, ‘सुरक्षित राख्नै सकिएको छैन ।’

कर्णका अनुसार जिल्लामा हाल ३ सय ३५ जना सक्रिय संक्रमित छन् । दुई जनाको उपचारका क्रममा मृ’त्यु भएको छ । जिल्ला अस्पतालका शय्या बिरामीले भरिएका छन् । ‘बिरामी आउने क्रम जारी छ, अब राखेर उपचार गर्ने ठाउँ छैन,’ उनले भने । जिल्लामा आईसीयू र भेन्टिलेटरको सुविधा नभएकाले पनि उपचारमा पूर्ण भर छैन ।

यसअघि कोभिडको संक्रमणबाट सुरक्षित रहेका सुनापति, दोरम्बा, उमाकुण्ड, लिखु तामाकोसी र गोकुलगंगामा अहिले धेरै संक्रमित देखिएका छन् । दुरागाउँमा घरघरै ज्वरोका बिरामी रहेको स्थानीय जनार्दन घिमिरेले बताए । दुई दिनअघि सोही गाउँका एक संक्रमितको मृत्यु भएको थियो । काठमाडौंबाट आएका व्यक्तिहरूबाट गाउँभर संक्रमण फैलिएको स्थानीयको अनुमान छ ।

दुर्गममा रहेका स्वास्थ्यकर्मी र स्थानीयले कोरोना परीक्षण गर्न आग्रह गरे पनि स्थानीय तह र स्वास्थ्य कार्यालयले परीक्षणको दायरालाई बढाउन नसकेको गुनासो गरेका छन् । ‘हामीकहाँ करिब नौ सय भीटीएम भए पनि परीक्षणको दायरा बढाउन सकिरहेका छैनौं,’ कर्णले भने, ‘परीक्षणमै समय धेरै लाग्छ । पालिकाहरूले व्यवस्था गरेका भीटीएमबाट न्यून मात्रामा परीक्षण हुँदै आएको छ ।’ घरघरमा बिरामी बढे पनि सिकिस्त नभई अस्पतालमा नआउन कर्णले आग्रह गरे । अलग्गै बसेर औषधि सेवन गर्ने र सावधानी अपनाउनेबाहेक अरू उपाय छैन,’ कर्णले भने, ‘अब अस्पतालमा ठाउँ छैन ।’

सिन्धुली अस्पतालमा संक्रमित राखेपछि र स्वास्थ्यकर्मीमै संक्रमण देखिएपछि अन्य रोगका बिरामी डरले मेडिकलतिर ओइरिएका छन् । अस्पतालको गेटनजिकै रहेको भवनको भर्ना वार्डलाई आइसोलेसन कक्षमा परिणत गरेर संक्रमित राखेपछि गर्भवती, भाइरल ज्वरो, दीर्घरोगी, हाडजोर्नीलगायत सामान्य बिरामी डरले अस्पताल जान छाडेका हुन् । बिरामीहरू अस्पताल नगएपछि सदरमुकाम माडी बजारका औषधि पसललाई भ्याइनभ्याइ छ ।

‘संक्रमितलाई कोभिड अस्पतालमा राखिएको भए अन्य रोगका बिरामी औषधि पसल धाउनुको सट्टा सरकारी अस्पताल गएर सेवा लिन्थे,’ स्थानीय टीकाजंग थापाले भने, ‘अहिले अस्पताल छोडेर सबै मेडिकलमा गएर औषधि लिने गरेका छन् ।’ बिरामीले भनेको लक्षणका भरमा जाँच नगरी मेडिकलबाट औषधि दिने गरिएको छ ।

सामान्य अवस्थामा सिन्धुली अस्पतालमा दैनिक दुईदेखि चार सयसम्म बिरामीहरू आउने गर्थे । दोस्रो लहरको कोरोना सुरु भएपछि घट्दै गएर यतिखेर आपत्कालीनबाहेक मुस्किलले १० जना आउने गरेको अस्पतालले जनाएको छ ।

यसअघि कोभिड अस्पताल समयमै सञ्चालनमा नआउँदा संक्रमितलाई सिन्धुली अस्पतालमा राखेर उपचार गरिएको थियो । अहिले कोभिड अस्पताल सञ्चालन भए पनि संक्रमितलाई सारिएको छैन । अस्पतालको भवन निर्माणाधीन रहेकाले अस्थायी भवनहरू व्यवस्थित छैनन् ।

संक्रमण सर्ने डरले बिरामीहरू रोग पालेर घरमै बस्नुपर्ने अथवा मेडिकल जानुपर्ने बाध्यता रहेको ज्वरोको औषधि लिन पुगेका बोजेका सुकमान थामीले बताए । कोभिड अस्पताल सञ्चालनमा आइसकेकाले रोग पालेर नबस्न सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद पोखरेल सुझाउँछन् । संक्रमण नफैलियोस् भनेर सबैखाले उपाय लगाइएको समेत उनले बताए ।