एमसीसी अन्तरगतको आयोजना बनाउँदा दुई लाख रुख काटिने

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सहयोगमा कार्यान्वयन गर्ने विद्युत् प्रसारण आयोजना बनाउँदा २ लाख २ हजार वटा रुख काटिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार ३१३.९ किलोमिटर लामो ४ सय केभीको प्रसारणलाइन र सबस्टेसन आयोजनाले उपयोग गर्ने ७७७.५ हेक्टरको वन क्षेत्रमध्ये ३५४.४ हेक्टर क्षेत्रफलबाट रुख हटाउनुपर्ने भएको हो ।

११२ वटा सामुदायिक वनको ३३०.४ हेक्टर क्षेत्रफलबाट ७८ हजार ६४२, ८ वटा कबुलियति वनको ४.४ हेक्टर क्षेत्रफलबाट १ हजार १९४ वटा रुख र ४४२.७ हेक्टरको सरकार संरक्षित वनबाट १ लाख २२ हजार १८२ वटा रुख काट्नपर्ने देखिएको छ ।

जिल्लाका आधारमा हेर्दा नुवाकोटका वनबाट ४७ हजार ९०८, तनहुँबाट ४५ हजार ११५, मकवानपुरबाट ३५ हजार ९१५, धादिङबाट २९ हजार ५६१ र पश्चिम नवलपरासीका वनबाट १७ हजार ९८९ वटा रुख काट्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी पाल्पाका वनबाट १२ हजार ५४८, पूर्वी नवरपरासीबाट ६ हजार ३५, सिन्धुपाल्चोकबाट ३ हजार ६९६, चितवनबाट २ हजार १७३ र काठमाडौंका वनबाट १ हजार ३७८ वटा रुख काट्नुपर्ने देखिएको छ ।

यि रुख काटिएबापत २० लाख २० हजार १८० वटा रुख रोप्ने र त्यसका लागि जिल्ला वन कार्यालयहरुसँग समन्वय गर्ने प्रतिवेदनमा उल्लेख छ । यो आयोजनाबाट १८७ घरधुरी विस्थापित हुनेछन् । करिब ३ अर्ब रुपैयाँ आयोजनाका कारण प्रभावित हुने क्षतिको न्युनीकरणको लागि उपयोग गरिने भएको छ ।

यो आयोजना कार्यान्वयन गर्दा साढे ३ वर्षका लागि ७ हजार ३०० व्यक्तिले काम पाउने र त्यसको ६० प्रतिशत हिस्सा नेपाली श्रमिकको हुने अनुमान छ ।

आयोजनाले १२४ हेक्टर जग्गा प्राप्ति गर्नुपर्नेछ । त्यसमध्ये ६८.७ हेक्टर कृषि भूमि हो भने करिब ५० हेक्टर जंगल क्षेत्र हुन् । ५.५ हेक्टर खाली तथा घर रहेका जग्गा हुन् ।

आयोजनाले १ हजार ३४७ हेक्टर स्थायी जमिनको भोगाधिकारमा रोक लगाउनेछ । सुरक्षाका कारण नयाँ घर वस्ती बसाउन र अग्ला रुख रोप्न त्यस्ता जग्गामा प्रतिवन्ध लाग्नेछ ।