यमनका विकट गाउँमा शल्यक्रिया गर्दै डाक्टर केसी

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्।

यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ। विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको डाक्टर केसीले बताएका छन्। आफूले दुई वर्षदेखि यमन जाने योजना बनाइरहेको उनले उल्लेख गरेका छन्।

‘यहाँ इतिहासको सबैभन्दा नराम्रो संकट देखा परेको छ, यहाँको दुर्गम भेगमा म स्वेच्छिक रूपमा अर्थोपेडिक सेवा दिइरहेको छ,’ केसीले आफ्ना सहयोगी डा. जीवन क्षत्रीलाई इमेलमा लेखेका छन्। नेपालमा को-भिड संक्रमणको दोस्रो लहरले महामारीको रूप लिएको थाहा पाउँदा आफू निकै दु:खी भएको केसीले इमेलमा लेखेका छन्।

‘यो सुनेपछि म नेपाल फर्किन्छु, जे गर्न सक्छु नेपालमै गर्छु भन्ने लागेको थियो,’ केसीले भनेका छन्, ‘दुर्भाग्यवश: नेपाल आउने उडान बन्द रहेछ।’ केसीले आफू छिमेकी मुलुक ओमानबाट सीमापार हुँदै यमन प्रवेश गरेको बताएका छन्। उनले आफू एक हप्ताभित्र अर्को युद्धग्रस्त ठाउँमा जाने योजना रहेको बताएका छन्।

आफू यमनमा भए पनि आफ्नो मन नेपालमै रहेको उनले बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारका धेरै नेता ‘अत्यन्त भ्रष्ट, निर्लज्ज र अनैतिक भएको बताएका छन्। ‘आफूलाई मतदान गर्ने व्यक्तिबारे उनीहरूलाई वास्ता छैन।

तिनीहरू देश र जनतालाई लुट्नका लागि कुर्सी, माफिया, डन र कालोबजारीको ख्याल राख्छन्,’ केसीले भनेका छन्। केसीले नेपाली जनता उनीहरूको साहस, कर्तव्यपना, दया, विश्वास, लचिलोपन र आत्मसम्मानका लागि परिचित रहेको बताएका छन्।