स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक, जथाभावी आइसोलेसन नखोल्न मन्त्रालयकाे आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।

कोभिड- १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आईसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ ।

ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आईसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।

सञ्चारकर्मीसँग मंगलबार कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधीहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिए ।

उनले सामान्य भौतिक पुर्वाधार को व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्ने चेतावनी दिए ।

उनले भने,‘पछिल्लो समय आईसोलेसनको नाममा मानिसरहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर हामी सबैले बुझ्नुपर्ने विषय चाहीँ मानिसहरु आईसोलेसनमा आफ्नो घरको छुट्ै कोठामा बस्नु भन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुदैन । स्वास्थ्य जटिलता, अलिकति गाहे भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आईसोलेसन केन्द्रहरु चाहीँ स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्छ कि भन्ने डर छ ।

हामी संक्रमणको आशंकामा पुग्यौ भने अलग्गिएर बस्ने, परीक्षण गराउने,संक्रमण पुष्टि भईसकेपछि पनि आफ्नो घर परिवारको अरु सदस्यलाई नभेटेर छुट् बस्ने गर्यौ र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को आईसोलेसन सेन्टरहरु स्थापना गर्दा स्वास्थ्यकर्मीहरु, त्यहाँ चाहिने उपकरणहरु, औषधीहरु र त्यहाँ गाहे हुने वित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानी हुने गरी गरेनौ भने हामीलाई गाहे हुन्छ ।’

उनले टोल टोलमा आइसोलेसन सेन्टरका नामा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साच्ची आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफुहरु चिन्तित बनेको बताए । उनले आइसोलेसन सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार राख्नै पर्ने स्वास्थ्य सामाग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतिपुर्ण रहेको बताए ।

उनले भने,‘पछिल्लो समयमा टोल टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरु ठूलो मात्रामा खपत हुने गरी खोलिराखेको अवस्थाले हामी अलिकति चिन्तित छौ । ती सामाग्रीहरुको व्यवस्थापन पनि अर्को चुनौतिपुर्ण पाटो हो । त्यहाँबाट निस्कने फोहर व्यवस्थापन अर्को चुनौतिपुर्ण पाटो हो । र जहाँ क्रिटिकल केयरका लागि साँच्चै अस्पतालहरुमा ती सामाग्रहरु चाहिन्छ ।

ती जनशक्तिहरु छन् भने ती जनशक्तिहरु उपलब्ध गराएर सहयोग गर्न सकिन्छ । जहाँ विरामीको क्रिटिकल केयर गर्नुपर्ने आवश्यकता हुन्छ ती ठाउँहरुमा अझै गाहे हुन्छ । डाक्टर अधिकारीले कोभिड १९ को उपचार नभईरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गरे ।

उनले आइसोलेसन सेन्टरहरु खोल्दै अस्पताल जस्तो क्रिटिकल केयर गर्ने स्थानहरुमा अक्सिजन लगायत स्वास्थ्य उपचारका सामाग्री अभाव हुने चुनौति पनि बढ्दै जाने भएकाले स्वास्थ्यकर्मीसहितको क्रिटिकल केयर र आवश्यक पर्दा अस्पतालहरुको समन्वय हुने व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए । डाक्टर अधिकारीले संक्रमणलाई फैलन नदिनस्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपिल गरे ।