कोरोनाले जसपा नेता जितेन्द्र सिंहको निधन

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ ।

कोरोना संक्रमित भएर गम्भीर अवस्थामा सिंहलाई उपचारका लागि वीरगञ्जबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको मंगलवार निधन भएको छ ।

उनी बारा जिल्लाको पचरौटा नगरपालिकाका पिपरपाती गाउँका निवासी थिए । २०६४ सालको मधेश आन्दोलनमा नेपाली कांग्रेस परित्याग गरेर उनी तराई मधेश लोकतान्त्रिक पार्टीमा आवद्ध भएका थिए ।

तमलोपाबाट उनले २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । उनले दुवै चुनावमा पराजय व्यहोरेका थिए ।

तमलोपामा उनी केन्द्रीय महासचिव थिए । उनको निधनले पार्टीलाई अपुरणीय क्षति भएको र एउटा असल मित्र गुमाएको बाराका प्रदेश सांसद तथा २ नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए ।

वन विज्ञान अध्ययन संस्थान हेटौंडामा विद्यार्थी हुँदा २०४४ देखि २०४६ सालसम्म उनी स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए ।