उपनिर्वाचनमा सहयोग माग्न वरिष्ठ नेता नेपाल निवासमा पुगे गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा नेकपा (एमाले) गरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । बिहीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार रहेका नेपाल सहयोगका लागि अनुरोध गर्न नेपाल निवास पुगेका हुन् ।

एमालेले गृहमन्त्री थापालाई बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदावार बनाएको छ । एमाले भित्रको विवादका कारण नेपाल समूहसहित प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा (माओवादी केन्द्र)को गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो । नेता नेपाल र अध्यक्ष ओलीबीच पार्टी एकताको विषयमा सहमति भएर कार्यदलसमेत बनिसकेपछि थापा उपचुनावमा सहयोग माग्न कोटेश्वर पुगेका हुन् ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार गृहमन्त्री थापा उपचुनावमा सहयोग र पार्टी एकताको विषयमा छलफल गर्न कोटेश्वर पुगेका हुन् । ‘बिहीबार हुने राष्ट्रियसभाको उपचुनावमा सहयोगको आग्रह गर्न र पार्टी एकताको विषयमा छलफल गर्न गृहमन्त्री वरिष्ठ नेता नेपाल निवास पुग्नु भएको हो’, भट्टराईले भने, ‘अहिले छलफल जारी छ ।’ एमालेले उपनिर्वाचन‍मा थापालाई मतदान गर्न ह्वीप जारी गरेको छ।

सोमबार एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिँदै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/ उप्रमुखका पत्र पठाएका हुन्।
‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क, रामबहादुर थापामगर भएको जानकारी गराइन्छ।’ पत्रमा भनिएको छ,

‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’ बागमती प्रदेश कमिटी बोधार्थ दिइएको पत्रमा कोरोना पिसिआर टेष्टको प्रमाण अनिवार्य लिएर आउन आग्रह गरिएको छ।