यस्तो बन्दैछ नारायणी नदीमा ३०० जना चढ्न मिल्ने नेपालकै पहिलो पानी जहाज

चितवन। नारायणी नदीमा पानी जहाज चढ्ने तपाईको इच्छा छिट्टै पुरा हुँदैछ । पानी जहाज बनाउने काम अन्तिम चरणमा पुगेको छ । जहाज बनाउन जिम्मा लिएको राइनो वाटर इन्टरनेशनल प्रालीले दशै सम्ममा पानी जहाज संचालनमा ल्याउने तयारी गरेको हो ।

नारायणी नदीमा संचालन गर्ने उद्देश्यले चार महिना अघि देखि भरतपुरको वडा न.ं १६ काभ्रेघाटमा जहाजको निर्माण काम चलिरहेको छ । तीनसय जना अटाउन सक्ने क्षमता भएको सानो आकारको जहाज झण्डै १५ करोड रुपैयाँ खर्च गरेर निर्माण हुँदैछ । जहाजको पहिलो चरणको काम सकिएको छ । पानी बाहिरको काम सबै सकिएको निर्माण कम्पनीका व्यवस्थापकिय निर्देशक रामचन्द्र कंडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार दोश्रो चरण अन्तर्गत जहाजलाई १५ फिट गहिरो पानीमा लगेर निर्माण गर्ने काम पनि आजै देखि सुरु भएको छ । भारतवाट आएका प्राविधिक र नेपालीहरु गरी ५० जना जनशक्ति जहाज निर्माणमा जुटेको छ । बुटवलबाट ल्याइएको दुईवटा क्रेनको सहायताले आज दिनभर लगाएर जहाजलाई १५ फिट गहिरो पानीमा लगिएको छ ।

तस्बिर–उज्वल चौलागाई