सबै नागरिकले कोभिड खोप पाउनुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पाउनुपर्ने माग गरेका छन् ।

कांग्रेसको कोभिड-१९ अनुगमन समितिले गरेको प्रदेश २ स्तरीय अन्तरक्रियालाई भर्चुअल सम्बोधन गर्दै सभापति देउवाले हरेक नागरिकले खोप नपाउँदासम्म कांग्रेसले खबरदारी गर्ने बताए ।

महामारी नियन्त्रणमा सरकार असफल भइसकेको भन्दै सभापति देउवाले अझै पनि सरकार गम्भीर भए अवस्था सुध्रन सक्ने बताए । यो सरकार गम्भीर छैन । सबै जनतालाई खोप लगाउनुपर्छ । सबैले खोप नपाउँदासम्म ओली सरकारलाई खबरदारी गर्नुपर्छ’ देउवाले भने ।

खोप खरिद गर्न र बिरामीको उपचार गर्नसक्ने सरकारले नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै देउवाले जनताको ज्यानभन्दा सरकार जोगाउने काममा बढी सक्रिय भएको आरोप लगाए । कोरोनाविरुद्धको लडाइँमा सरकारलाई प्रतिपक्षको सहयोग भएपनि सरकार आफैं उदासीन भएको देउवाको भनाइ छ ।