प्रधानमन्त्रीको शपथ विरुद्ध दर्ता भएका रिटमाथि आज सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष लिएको शपथ बदर गराउन मागसहित सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ । शपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले सत्य निष्ठापूर्वक प्रतिज्ञा र्गछु भन्ने वाक्य उच्चारण गर्न इन्कार गर्नुभएको विषयलाई लिएर सर्वोच्चमा ४ वटा रिट दर्ता भएका छन् ।

प्रधानमन्त्री ओलीले लिएको शपथ असंवैधानिक भएको भन्दै आइतबार अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले रिट निवेदन दिनुभएकाे थियाे । यसैगरी साेमबार अधिवक्ता राजकुमार सुवाल र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गराउनुभएकाे थियाे ।

ती रिटमा प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको भन्दा फरक परेको भन्दै बदर गराउन माग गरिएकाे छ । साथै प्रधानमन्त्रीले पुनः शपथ ग्रहण गरेर मात्र कामकाज गर्नका लागि अदालतद्वारा आदेश जारी गर्न माग गरिएको छ । उक्त रिटमाथि आज (मंगलबार) सुनुवाइ हुने भएकाे हाे ।

शुक्रबार प्रधानमन्त्री ओलीले शपथ ग्रहणका क्रममा राष्ट्रपति भण्डारीले भनेका केही वाक्य उच्चारण गर्न इन्कार गर्नुभएको थियो । त्यसक्रममा ओलीले ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिलाई जवाफ दिनुभएको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीले संसद सदस्य नै नरहेका ७ जनालाई पुनः मन्त्री बनाइएको भन्दै उक्त नियुक्ति खारेज गर्न पनि सर्वोच्चमा रिट दर्ता भएको छ । उक्त रिट निवेदनको सुनुवाइ पनि आजै हुने बताइएको छ । कानुनविपरीत संसद सदस्य नरहेका व्यक्तिलाइ पटकपटक मन्त्री नियुक्ति गरिएकाे भन्दै उक्त नियुक्ति खारेजीकाे माग रिट निवेदककाे रहेकाे छ ।