संक्रमितको शव जलाएको २८ हजार !

चितवन — भरतपुर महानगरपालिका–१ रामनगरका केशव रिमाल आइतबार कोरोनाबाट मृ’त्यु भएका एक परिचितको दाहासंस्कारमा सरिक भए । भरतपुरस्थित चितवन मेडिकल कलेजमा निधन भएपछि शवबाहनमा राखेर संक्रमितको शव देवघाटतर्फ हिँडाइयो ।

पछिपछि नेपाली सेनाको टोली पनि थियो । देवघाट क्षेत्र विकास समितिले शव जलाउने पुरानो ठाउँभन्दा वरै दियालो बंगलानजिक नारायणी नदी किनारमा संक्रमितको शव जलाउन ठाउँ उपलब्ध गराएको छ ।

शवबाहन त्यहाँ पुगेपछि सेनाको टोलीले नै चितामा लगेर राख्यो र सलामी दिएर हिँड्यो । शव जलाउँदै गर्दा शुल्कबापत २८ हजार रुपैयाँ माग भयो । जसोतसो जोहो गरेर उनीहरूले त्यो रकम तिरे । ‘यति शुल्क लाग्छ भन्ने जानकारी थिएन ।

अस्पतालबाट निस्केको मान्छे घाटमा पुग्दा सबैसँग पैसा नै हुन्छ भन्ने पनि हुँदैन । त्यसमाथि सक्नेले त २८ हजार रुपैयाँ पनि सजिलै तिर्लान्, नहुनेका लागि त यो रकम धेरै हो,’ रिमालले भने ।

शवबाहन शुल्क पाँच हजार, दाउरा र जलाउनेको पारिश्रमिकसमेत गर्दा थप सात/आठ हजारबाहेक अरू पैसा खासै खर्च नहुने देखेको उनले बताए । आफूले यो कुरा देवघाट क्षेत्र विकास समिति र प्रशासनमा पनि जानकारी गराएपछि जिल्ला प्रशासनमा यसबारे छलफल गर्न आइतबार दिउँसो बैठक पनि बस्यो । ‘मलाई गुनासो प्राप्त भएको थियो ।

२७/२८ हजार रुपैयाँ तिर्नुपरेको भन्ने रहेछ । त्यो रकम महँगो नै हो । कसरी घटाएर उचित शुल्कमा काम गर्न सकिन्छ त्यही गर्नुहोस् भन्ने निर्देशन दिएको छु,’ चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने ।

देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल समितिले संक्रमितको शव जलाउन ठाउँ मात्रै तोकेको र अन्य भूमिका नभएको बताउँछन् । समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले आइतबार दिउँसो सूचना निकालेर दाहसंस्कार गर्न एक चाङ दाउराको तीन हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने जानकारी गराएका छन् ।

उक्त सूचनामा कोभिड भएर निधन भएकाको दाहसंस्कार गर्दा लाग्ने शुल्कका बारेमा उल्लेख छैन । एम्बुलेन्स चालकहरूको संस्थाको समन्वयमा संक्रमितको दाहसंस्कार हुने गरेको छ । ‘आइतबार दिउँसो भएको बैठकमा म पनि गएको थिएँ । शव व्यवस्थापनका लागि सहयोग गरौं भनेर हामीले साथीहरूलाई खटाएको हो । संस्थागत जिम्मेवारी त लिएको हैन,’ संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष नवराज लामिछानेले भने ।

कम शुल्क वा शुल्क नै नलिएर संक्रमितको रीतिअनुसारको अन्तिम संस्कार कसरी गर्न सकिन्छ भनेर छलफल गरिरहेको प्रजिअ लामिछानेले बताए ।