लाखौं खर्चेर बेड त पाए, तर आफन्त गुमाए

काठमाडौं महानगरपालिका–३० की ५३ वर्षीया महिलाको शहीद मेमोरियल अस्पताल कलंकीको आईसीयूमा उपचार भइरहेको थियो ।

अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल पुर्‍याएकी उनको स्वाब परीक्षण गर्दा वैशाख १८ गते कोरोना पोजेटिभ देखियो । स्वास्थ्य झन् जटिल बन्दै गयो । यही बेला अस्पतालले भनिदियो, ‘आईसीयूबाट जुनसुकै बेला भेन्टिलेटरमा सार्नुपर्ने हुनसक्छ, तर हामीसँग भेन्टिलेटर खाली छैन । अर्को अस्पतालको खोजी गर्दै गर्नू ।’

परिवारका सदस्यहरु भेन्टिलेटरको खोजीमा जुटे । संक्रमितकी छोरी अस्मिताले भनिन्, ‘भेन्टिलेटर भएका हस्पिटलको सूची हातमा लिएर फोन गर्न थाल्यौं, कसैले छ भनेनन् ।’

काठमाडौंमा भेन्टिलेटरसहित बेड नभेटिएपछि बाहिर पनि विकल्प खोज्नेबारे परिवार र आफन्तबीच सल्लाह भयो । पोखरामा धेरै अस्पताल भएकाले फोन गरे । ‘चरक अस्पतालमा भेन्टिलेटरसहित बेड छ भनेपछि तत्काल हेलिकप्टरको व्यवस्था गरेर पोखरा पुर्‍याइहाल्यौं’ संक्रमित महिलाकी छोरीले भनिन् ।

यो बुधबारको कुरा हो । उनीहरुले भेन्टिलेटरसहित बेड पनि पाए । ‘चार दिनपछि सदाका लागि आमालाई गुमायौं । शनिबार राति उहाँको मृत्यु भयो’ अस्मिताले भनिन् ।

गण्डकी प्रदेश बाहिरबाट पनि संक्रमितहरु उपचारका लागि आएकाले पछिल्लो समय पोखराका अस्पतालहरुमा चाप बढेको छ । संक्रमण उच्च भएको काठमाडौं र पश्चिमी जिल्लाहरुबाट हेलिकप्टर तथा सडकमार्ग भएर संक्रमितहरु बेड खोज्दै आउने क्रम बढेको छ ।

आमालाई बचाउने अन्तिम आशा बोकेर परिवारका सदस्यहरु ह्याम्स हस्पिटलको छतमा रहेको हेलिप्याडमार्फत पोखरा उडेका थिए । ‘सास भएसम्म आश त भइहाल्छ । एम्बुलेन्समार्फत जाँदा झन् समय लाग्थ्यो ।

हेलिमार्फत गयौं’ महिलाकी छोरीले भनिन्, ‘आईसीयू, हेलिकप्टर र फेरि भेन्टिलेटरसहितको अस्पतालमा उपचार गर्दाको के हिसाब भयो र लाखौं खर्च भइहाल्यो तर त्योभन्दा पनि ठूलो नोक्सानी आमा बचाउन नसकेर गुमायौं ।’