ताउ ते’ चक्रवातका कारण भारतमा १२ जनाको मृ’त्यु, डेढ लाख विस्थापित

काठमाडौं– अरब सागरमा विकसित शक्तिशाली चक्रवात ‘ताउ ते’ले भारतको जनजीवन अस्तव्यस्त बनाएको छ।

तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने डेढ लाखभन्दा बढी विस्थापित भएको भारतीय समाचारहरुमा उल्लेख छ। चक्रवातबाट सबैभन्दा प्रभाव मुम्बईमा परेको छ। चक्रवातमा फसेकाहरुको नौ सेनाको जहाजमार्फत उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मुम्बईमा ११४ किलोमिटरको गतिमा प्रतिघण्टा हुरी चलेको थियो । चक्रवातका कारण मुम्बई, थाणे, रायगढलगायत क्षेत्रको जनजीवन प्रभावित भएको छ। त्यहाँ कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ। हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएको समाचारहरुमा उल्लेख छ।

यो चक्रवात गएराति १८५ किलोमिटर प्रतिघण्टाको गतिमा गुजरातमा आइपुगेको छ । गुजरातका तटीय क्षेत्रका डेढ लाखभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ।