बधाई नेपाली चेलीलाई ! अमेरिकी विश्वविद्यालयद्वारा मीरा राईलाई मानार्थ पिएचडी उपाधि

काठमाडौं । अमेरिकाको एक युनिभर्सिटीले चर्चित अष्ट्रा ट्रेल रनर मीरा राईलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । अमेरिकास्थित विश्वप्रसिद्ध वेस्टक्लिफ युनिभर्सिटीले राईको साहसिक कार्यको सम्मान गर्दै यो उपाधि दिएको हो । आइतबार याक एण्ड यति होटलमा प्रेसिडेन्सियल बिजनेश स्कुलद्वारा आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्रा.डा. डेभिड मेकेनीले राईलाई संयुक्त रुपमा विद्यावारिधी उपाधि प्रदान गरेका हुन् । प्रेसिडेन्सियल बिजनेश स्कुल वेस्टक्लिफको सम्बन्धनप्राप्त नेपालस्थित बिजनेश कलेज हो।

मीराले आफूले सपनामा पनि नसोचेको उपलब्धि हासिल गरेको बताइन् । ‘यो उपाधि पाउँला भनेर सपनामा पनि सोचेकी थिइन्, यसले मलाई औधी खुशी बनाएको छ,’ उनले भनिन्, ‘म यो उपाधिका लागि वेस्टक्लिफ युनिभर्सिटी र प्रेसिडेन्सियल बिजनेश स्कुललाई विशेष धन्यवाद दिन चाहन्छु ।’

उनले यो उपाधिबाट आफूजस्तै परिश्रम गरेर अष्ट्रा ट्रेलमा दौडने नवप्रतिभाहरुलाई पनि थप मेहनेत गर्न प्रेरणा मिल्ने आशा ब्यक्त गरिन् । सो अवसरमा राईले आफूले कक्षा ७ मा पढाइ छोडेर जनयुद्धमा होमिएको र त्यसपछि पुनः फर्केर खेलसँगै उच्च शिक्षाको भोकले पढाइमा लागेको कुरा पनि स्मरण गरिन् । उनले जीवनमा आइपर्ने संघर्षदेखि हार नमानेर अगाडि बढ्दा महत्वपूर्ण उपलब्धि हासिल हुने बताइन् ।भोजपुरमा जन्मिएकी राई अन्तर्राष्ट्रिय अल्ट्रा रेसमा चर्चित नेपाली नाम हो । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराइसकेकी छन् ।