नेपाललाई सिंगापुर र स्विजरल्याण्ड होइन नेपाल नै बनाऔँ

काठमाण्डौ। नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको वैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले देशको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिँडेका साम्यवादी बाटोले पनि नहुने भएकाले वैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताउनुभएको हो । स्वर्गीय बीपी कोइरालाले विकास गर्दा सधैँ मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउँदै आएको स्मरण गर्दे उहाँले बीपीले देखाएको बाटोमा हिँड्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि विकास कुनै पनि समाजवाद कुनै पनि साम्यवाद मनुष्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ । मनुष्य साध्य हो । मनुष्य साधन होइन । केही हुँदैन विकास हुँदैछ । दुई चार वटा मान्छे मरे मरुन । दुई चार महिला बलात्कृत भए हुन् भन्न पाइँदैन । प्रत्यक मनुष्य साध्य हो । त्यो बीपीको मान्यता छ ।’ विश्वभरमा नै अहिले विकासको वैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै उहाँले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्विजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा देशलाई अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बीपीले बारम्बार भन्नुभयो, विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पीएचडीलाई, डाक्टरलाई, बुद्धिजीवीलाई, विद्वानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु ।’ बीपीले सधैँ ‘चहराइरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजारी र गुप्त बेरोजगारीलाई सम्बोधन गर्न तथा ठूलाठूला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्दे उहाँले विकासका बारेमा बीपीले देखाएको वैकल्पिक बाटोतर्फ सोच्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।