भक्तपुरका सम्पदा देखेर चिनियाँ विदेशमन्त्री प्रसन्न, फोटोमा हेर्नुहोस उनको सेल्फी क्रेज

काठमाडौं । तीन दिने नेपाल भ्रमण पुरा गरेर चिनियाँ विदेशमन्त्री विङ यी स्वदेश फर्किएका छन् । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री विङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, आफ्नो समकक्षी प्रदीप ज्ञवाली, विभिन्न राजनीति दलका नेताहरू, पूर्व प्रधानमन्त्रीहरूलगायतसँग भेट गरे ।

भ्रमणको क्रममा विङले राजनीति भेटवार्ता मात्र गरेनन् । उनले आफुलाई एक चिनियाँ पर्यटकको रुपमा समेत चिनाए । भक्तपुर दरबार स्क्वायरलगायत सम्पदाको स्थलगत अवलोकन गर्दै मन्त्री यीले आफु एक पयर्टक भएको प्रतिक्रिया दिए ।

भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिरलगायत ठाउँ अवलोकन गरेका विदेशमन्त्री वाङले यहाँका सम्पदा देखेर प्रसन्न हुँदै तस्वीर समेत खिचे । अनौपचारिक पोशाकमा पुगेका मन्त्री यी निकै प्रशन्न मुद्रामा देखिएका थिए ।

चिनियाँ राजदूत हउ याङ्छीलगायत भ्रमण दलका अन्य सदस्यसहित भक्तपुरका सम्पदाको अवलोकन भ्रमण गरेका उनले आफ्नो तस्वीर नखिच्न पत्रकारलाई आग्रह समेत गरेका थिए । आफूलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर अवलोकन गर्न दिन आग्रह गर्दै तस्वीर नलिइदिन अनुरोध गरेका हुन् ।

भक्तपुर घुम्न पाउँदा अत्यन्त खुशी लागेको र यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङको भनाई थियो । ति क्षेत्रको अवलोकनको क्रममा मन्त्री वाङले सेल्फी खिच्दै पत्रकार तथा सुरक्षाकर्मीलाई भने, ‘मलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर घुम्न दिनुस् । मेरो फोटो खिच्नु पर्दैन ।’

यसअघि सोमबार चन्द्रागिरि केबलकारको पनि भ्रमण गरेका थिए । स्वदेश फर्किएका मन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरेका थिए । रासस