नेपालमा दर्ता भएको हेलिकोप्टर म्यानमारमा अलपत्र

म्यान्मार । नेपालको एउटा हेलिकोप्टर खराब मौसमका कारण केही दिनदेखि पश्चिमी म्यान्मारको सिट्वे विमानस्थलमा रोकिएको छ । सो हेलिकोप्टर राखिने राज्यको सिताउङ्ग र राखाउङ्गको बीचमा पर्ने बुथीदाउङ्गमा सेप्टेम्बर ६ तारेख बिहान ११ बजेतिर अस्थायी रुपमा अवतरण गराइएको थियो । सो क्षेत्रको आसपासमा म्यान्मारको सैनिक र विद्रोही अर्कान सेनाबीच झडपको अवस्था रहेको छ ।

जब मौसममा सुधार भयो हेलिकोप्टर सो स्थानबाट उडेर ११ः५० बजेतिर सिट्वे विमानस्थलमा पुगेको थियो । ६ सेप्टेम्बरको २ बजेतिर सो हेलिकोप्टर यांगुनको लागि उडेकोमा २७ मिनेटभित्रै खराब मौसमका कारण सिट्वेमा नै फर्काइएको थियो ।

हेलिकोप्टरका क्रु मेम्बरलाई कडा सुरक्षाका साथ सिट्वेस्थित होटलमा राखिएको राज्यका प्रहरी इन्चार्ज यायमुग्यी क्यी लिनले बताएका छन् । सरकारी अधिकारीहरुका अनुसार एम आइ—८ एमटिभी—१ नामको सो हेलिकोप्टरको दर्ता नम्बर नेपालको कल साइन ९एन—एएचटी रहेको छ । उक्त हेलिकोप्टर इण्डोनेसियातर्फ जान लागेको थियो । त्यहाँको जंगलमा भएको आगलागीमा सहयोग गर्नका लागि सो हेलिकोप्टर त्यसतर्फ लगिएको जनाइएको छ ।

यांगुनमा भएको इण्डोनेसियाको दूतावासले मागेको अनुमति अनुसार सो हेलिकोप्टर म्यान्मारमा प्रवेश गरेको थियो । यसैबीच राखिनेका सीमा सुरक्षा मामिला सम्बन्धी मन्त्री र अन्य अधिकारीहरु त्यहाँ गएर क्रु मेम्बरलाई भेटी आबश्यक सहयोग गर्ने आश्वासन दिएका थिए । (बीएनआई)