‘तराई-पहाड-हिमाल, हाम्रो मातृभूमि नेपाल’ भन्ने मूल नाराका साथ तराईका युवा रञ्जीत साहले साइकलबाटै सगरमाथा आरोहण गर्ने

जनकपुर। ‘तराई-पहाड-हिमाल, हाम्रो मातृभूमि नेपाल’ भन्ने मूल नाराका साथ नेपाल भ्रमण वर्ष २०२० को सफलताको लागि धनुषाको जनकपुरबाट सागरमाथा बेस क्याम्पसम्म साइकल यात्रामा निस्केका ३२ वर्षीय युवा रञ्जीत साह सोलुखुम्बू जिल्लाको थागदिंग भन्ने स्थानमा पुगेका छन् । भाद्र ९ गते जनकपुरबाट साधारण हिरो रॉयल साइकल लिएर हिडेका रञ्जीत १४ दिनसम्म निरन्तर साइकल चलाउँदै आफ्नो गन्तव्य सागरमाथा बेस कैम्पसम्म पुग्न अझै ७ देखी १० दिन सम्म लाग्ने अनुमान गरेका छन् ।

तीन दिनदेखि साइकललाई घाँटीमै बोकेर यात्रा गर्दै सोमबार थागदिंग पुगेका छन् । घना जंगल र पहाडबीच साइकल चढेर हिड्न निकै चुनौती रहेकोले समय बढी लाग्ने गरेको रञ्जीतले भने । जनकपुरको जानकी मन्दिरबाट निस्केका रञ्जीत खुरकोट, दोलखा, कालीन्चोक, पुनः दोलखा हुँदै दुलालघाट, काठमाण्डु, खुरकोट, घुर्मि, ओखलढुङ्गा, सल्लेरी, ख़रीखोला, लुक्ला हुँदै सोमबार सोलुखुम्बूको थागदिंग पुगेका हुन् । यहाँसम्म उनले झन्डै ६ सय किलोमिटरको यात्रा तय ग़रिसकेका छन् ।

टाउकोमा नेपाली ढाका टोपी र साईकलमा चन्द्र-सूर्य अंकित राष्ट्रिय झण्डा लगाएर तराई-पहाड़-हिमालको प्रतिनिधित्व गर्दै नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन लागेको रञ्जीतको यो यात्रालाई जनकपुरवासीले साहसिक कदम भन्दै सामाजिक सञ्जालमा यात्रा सफलताको कामना गरेका छन् । उनले विगतमा पनि २०७२ भाद्र २१ गते जानकी मन्दिर, जनकपुरदेखि काठमाण्डुको पशुपतिनाथसम्म २५० किलोमिटर साइकल यात्रा एक दिनमै तय गरेका थिए । त्यसै वर्ष आसोज महिनाको ७ गते जनकपुरदेखि हलेसि महादेव, खोटाङसम्म साधारण साइकलले यात्रा गरेका थिए ।