बामदेव गौतमलाई हराउने पूर्वमन्त्री सञ्जय गौतमलाई कारवाही

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा नेकपाका सचिवालय सदस्य बामदेव गौतमलाई हराएर एकाएक चर्चामा आएका पूर्वमन्त्री सञ्जय गौतमलाई नेपाली काँग्रेसले कारवाही गरेको छ । गौतमलाई नेपाली काँग्रेसले एनसेल कर मुद्धाका विषयमा संसदमा प्रश्न उठाएको भन्दै कारबाही गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका कानुन न्याय तथा मानवअधिकार समितिका सदस्य तथा पूर्वमन्त्री सञ्जय गौतमलगायत साँसदहरुलाई कारवाही गरेको हो । कानुन समितिमा एनसेलको लाभकर सम्बन्धी सर्बोच्च अदालतको फैसला अध्ययन गर्न प्रस्ताव राख्ने सांसदलाईनै सो समितिबाट हटाइएपछि काँग्रेस भित्रनैखैलाबैला मच्चिएको छ ।

समितिको अघिल्लो बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सर्बोच्चको फैसला अध्ययन गर्नुपर्ने प्रस्ताव राखेका थिए । गौतमको प्रस्ताव अनुसारनै समितिले सर्बोच्चको भदौ ८ को फैसलाले राज्यलाई अर्बौ राजश्व घाटा भएको भन्दै विज्ञहरुसँगको राय लिएर फैसला अध्ययन गर्ने निर्णय गरेको थियो । आइतबार अचानक प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख डा.शिवमाया तुम्बाहम्फेले गौतमसहित कांग्रेसका केही सांसदको समिति हेरफेर सम्बन्धी सूचना पढेर सुनाएकी हुन् ।

गौतमलाई विकास तथा प्रविधि समितिमा पठाइएको छ । उनको ठाउँमा कांग्रेस सभापति शेरबहादुर देउवा विकास समितिबाट कानुन समितिमा आएका छन् । त्यस्तै कांग्रेसकै अर्का सांसद देवप्रसाद तिमल्सिनालाई पनि कानुन समितिबाट कृषि समितिमा पठाइएको छ ।

उनको ठाउँमा कृषि समितिका स्मृतिनारायण चौधरीलाई ल्याइएको छ भने महिन्द्राकुमारी लिम्बुलाई पनि कानुन समितिबाट हटाएर कर्मा घलेलाई ल्याइएको छ । कानुन समितिमा एनसेलको लाभकर सम्बन्धी सर्बोच्च अदालतको फैसला अध्ययन गर्नु पर्ने आफ्नो अडान यथावत रहेको नेता गौतमको भनाई ।