बैज्ञानिक के शिवन: १०४ वटा उपग्रहलाई एकसाथ अन्तरिक्षमा पुर्‍याउने भारतीय किसानका छोरा

बीबीसी। ७ सेप्टेम्बरको सबेरै बेङ्गलुरुस्थित भारतीय अन्तरिक्ष केन्द्र (इसरो)बाट भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी निस्कन खोजिरहेका बेला इसरोका प्रमुख के शिवन भावुक भए।

त्यसको केही घण्टाअघि इसरोको चन्द्रमा छुने मिशन चन्द्रयान-२ को विक्रम ल्यान्डरसँग सम्बन्ध विच्छेद भएको थियो।

इसरोका अध्यक्ष शिवनलाई अँगाल्दै प्रधानमन्त्री मोदीले ढाडस दिएको भिडिओ टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमा निकै चर्चित बन्यो।

चन्द्रयान-२ मिशनको एउटा यान विक्रम ल्यान्डर योजना अनुरुप चन्द्रमाको दक्षिणी ध्रुवमा उत्रियो या उत्रिएन वा त्यसलाई के भयो भन्ने प्रश्नहरू अझै अनुत्तरित छन्।

तर आइतवार इसरोका प्रमुख शिवनले चन्द्रमाको सतहमा विक्रम ल्यान्डर देखिएको तस्बिर आफूहरूले पाएको र त्यससँग सम्पर्क पुर्नस्थापित गर्ने प्रयास भइरहेको बताएका छन्।

मुख्य भूमिका
त्यतिखेर शिवन भारतीय यानको चन्द्रमा यात्रा पूरा नभएको कारणले भावुक भएको भएपनि उनी मानसिक रूपमा निकै दृढ व्यक्ति हुन्।

उनकै प्रयासका कारण कम खर्चमा अन्तरिक्षमा उपग्रहहरू पठाउने मामिलामा भारत अहिले एउटा प्रमुख गन्तव्य बनेको छ।

मङ्गल मिशनका लागि पीएसएलभी भनिने प्रक्षेपण यानको उपयोग गरेर कम खर्चिलो रणनीति विकसित गर्नमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए।

१५ फेब्रुअरी २०१७ मा पीएसएलभी मार्फत् एकसाथ १०४ वटा उपग्रहहरू (बेबी) लाई सफलतापूर्वक अन्तरिक्षमा पठाउन सफल हुनुका पछाडि शिवन नै मुख्य भूमिकामा थिए।

एउटा टेलिभिजन अन्तर्वार्तामा शिवनले बेबी नाम दिइएको उक्त उपग्रह वाहन रकेटका बारेमा भनेका छन्: “यो इसरोको निकै ठूलो सफलता हो र एकैसाथ यतिधेरै उपग्रह पठाउने भारत पहिलो देश हो।”

आमजीवनमा अन्तरिक्ष विज्ञान
उनको नेतृत्वमा लिथियम ब्याट्री पनि बनाइएको थियो जसको इलेक्ट्रिक वाहनमा प्रयोग गर्न सकिन्छ।

शिवन स्वयंका अनुसार इसरोको मुख्य उद्देश्य ‘आमजीवनमा अन्तरिक्ष विज्ञानको प्रयोग’ गर्नु हो।

बताइए अनुसार इसरोले अन्तरिक्षमा पठाउने प्रविधिलाई उद्योगको रूपमा जोड्ने दिशामा काम गरिरहेको छ।

उनका अनुसार अहिलेसम्म इसरोले तीनसय देखि चारसय प्रविधि उद्योगहरूमा पठाइसकेको छ।

पीएसएलभी प्रक्षेपण यान भारतको तेस्रो पुस्ताको रकेट हो जसले सन् १९९४ देखि सन् २०१७ को बिचमा ४८ भारतीय र २०९ विदेशी उपग्रहहरूलाई अन्तरिक्षसम्म पुर्‍याएको छ।
चिकित्सा उपकरणहरूको विकासको क्षेत्रमा समेत उनीहरूले थुप्रै काम गरेका छन्।

शिवन उक्त समूहका प्रमुख थिए जसले सीक्स डि सिम्युलेशन सफ्टवेयर ‘सितारा’ बताएको थियो जसको भूमिका इसरोका सबैजसो प्रक्षेपणमा प्रमुख रहेको छ।

उनले एउटा त्यस्तो रणनीतिको विकास गरेका छन् जसले मौसमको पूर्वानुमान र हावाको गतिको स्थिति बुझेर जुनसुकै मौसम र वर्षको कुनै पनि दिन रकेट प्रक्षेपण गर्न सम्भव बनाएको छ।

शक्तिशाली पीएसएलभी निर्माणमा योगदान
सन् १९८२ मा शिवन पहिलोपटक इसरोमा काम सुरु गर्दा उनले पीएसएलभी परियोजनामा काम गरेका थिए।

उनले दुई फरक विन्दूबिच हुने मिशनको योजना, मिशनलाई एकीकृत पार्ने काम र त्यसको समीक्षामा निकै योगदान पुर्‍याएका छन्।

अहिले शिवनको अन्तरिक्ष इञ्जिनियरिङ्ग, अन्तरिक्ष पारवहन प्रणाली सम्बन्धि इञ्जिनियरिङ्ग, प्रक्षेपण वाहन र मिशन डिजाइन, नियन्त्रण र सञ्चालन सम्बन्धि डिजाइन, मिशनको सफ्टवेयर डिजाइन, मिशनको विभिन्नखाले परिक्षणको संयोजन, अन्तरिक्ष उडानसँग जोडिएका सम्पूर्ण प्रक्रिया तयार-विश्लेषण र उडान प्रणालीको प्रमाणिकरण गर्ने काममा विशेषज्ञता हासिल गरेका छन्।

उनको एउटा सबैभन्दा महत्त्वपूर्ण योगदान पीएसएलभीलाई शक्तिशाली बनाउनु रहेको छ।

यसमार्फत् इसरोका अन्य थुप्रै उपग्रह र अन्तरिक्ष यान प्रक्षेपण गरिएका छन्।

विवाद
इसरोको अध्यक्ष बनेपछि के शिवनले स्पेश एप्लीकेशन सेन्टरका निर्देशकको पद घटुवा गरिदिएका थिए।

जसका कारण इसरोका वैज्ञानिकहरूले राष्ट्रपतिसमक्ष एउटा पत्र लेखेर त्यस्तो कदमको कुनै व्यावसायिक कारण नभएको बताएका थिए।

त्यसबाहेक चन्द्रयान-२ को प्रक्षेपण गर्नुभन्दा अगाडि शिवन कर्नाटक राज्यको कृष्ण मन्दिरमा पूजा गर्न गएपछि पनि उनको आलोचना भएको थियो।

कष्टकर बालापन
आफ्नो परिवारमा पहिलोपटक स्नातक पास गर्ने र पहिलो इञ्जिनियर बनेका इसरो प्रमुख शिवनको जन्म १४ एप्रिल १९५७ मा तमिलनाडुको एउटा किसान परिवारमा भएको थियो।

अङ्ग्रेजी पत्रिका टाइम्स अफ इन्डियाको एक अन्तर्वार्ताका अनुसार पैसा अभावकै कारण शिवनका भाईले उच्चशिक्षा हासिल गर्न सकेनन्।

किन भारत अन्तरिक्ष प्रतिरक्षा प्रणालीमा लगानी गर्दैछ?
पत्रकार पल्लव बागलाले लिएको अन्तर्वार्तामा उनले स्कुल पढ्दा खेतीमा आफ्ना बुवालाई सहयोग गर्ने गरेको बताएका थिए।

पछि सन् १९७७ मा गणितमा मदुरै विश्वविद्यालयबाट स्नातको पढाईका क्रममा शतप्रतिसत अङ्क ल्याएपछि शिवनका बुवाले उनलाई उच्च शिक्षाको अनुमति दिएका थिए।

वैज्ञानिक यात्रा
सन् १९८० मा मद्रास इन्स्चिच्युट अफ टेक्नोलोजीबाट एयरोनोटिक्स इञ्जिनियरिङ्ग सकेको दुई वर्षपछि उनले बेङ्गलुरुको भारतीय विज्ञान संस्थान (आईआईएससी)बाट एयरोस्पेसमा स्नातकोत्तर गरे।

त्यही वर्ष इसरोमा जागिर सुरु गरेका उनले सन् २००७ मा एयरोस्पेस इञ्जिनियरिङ्गमा आईआईटी मुम्बईबाट पीएचडी पूरा गरेका थिए।

उनी सन् २०१८ मा इसरोको प्रमुख बनेका हुन्।

थुप्रै प्रतिष्ठित पुरस्कारबाट सम्मानित उनलाई थुप्रै विश्वविद्यालयबाट डाक्टर अफ साइन्सबाट विभूषित गरेका छन्।

अन्तरिक्ष यात्रा प्रणालीको डिजाइन र निर्माणको सबैजसो क्षेत्रको अनुभव लिएका उनले सन् २०१५ मा ‘इन्टिग्रेटेड डिजाइन फर स्पेश ट्रान्सपोर्टेशन सिस्टम’ नामक पुस्तक प्रकाशित गरेका छन्।

विज्ञान र प्रविधिको क्षेत्रमा शिवनको योगदानको लागि गतमहिना तमिलनाडु सरकारले उनलाई डा कलाम पुरस्कारबाट सम्मानित गरेको थियो।