भारतले चन्द्रमामा पठाएको ल्यान्डर विक्रम पत्ता लाग्यो

एजेन्सी। भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ को ल्यान्डर विक्रम पत्ता लगाउन सफल भएको छ । इसरोका अध्यक्ष डा के सिवनले चन्द्रमामा विक्रम ल्यान्डर पत्ता लागिसकेको बताए । अर्बिटरले ल्यान्डरका केही तस्वीरहरू लिएको छ । विक्रमसँग सम्पर्क गर्ने कोशिश जारी छ । अर्बिटरले खिचेको ल्यान्डरको तस्वीर इसरोसम्म पुगेको भने छैन ।

शनिवार बिहान अन्तरिक्ष विज्ञानमा भारतले इतिहास रच्न लागेको थियो तर चन्द्रयान–२ को ल्यान्डर विक्रम ल्यान्डिङको हुनुभन्दा जम्मा ६९ सेकेन्डअघि पृथ्वीसँग सम्पर्क टुटेको थियो । सिवनले भारतीय मिसन ९९ प्रतिशत सफल भएको अनि अन्तिम चरणमा ल्यान्डरसँग सम्पर्क टुटेको बताए।

सिवनले भनेका थिए, ‘ल्यान्डर विक्रमको अवतरण प्रक्रिया एकदम सही थियो । चन्द्रमाको दक्षिणी ध्रुवको सतहभन्दा जम्मा २.१ किलोमिटर टाढा हुँदा पृथ्वीसँग सम्पर्क टुट्यो । हामीहरू अर्बिटरबाट प्राप्त डेटाको विश्लेषण गरिरहेका छौं । आगामी १४ दिन सम्पर्क कायम गर्ने कोशिश गर्नेछौं ।’

जुन अर्बिटरबाट ल्यान्डर अलग्गिएको थियो, त्यो अहिले पनि चन्द्रमाको सतहबाट ११९ किलोमिटरदेखि १२७ किलोमिटरको उचाइमा घुमिरहेको छ । कुल २३ सय ७९ किलो तौल भएको अर्बिटरसँग ८ पेलोड छ र यसले ७ वर्षसम्म काम गर्नेछ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले विगत ६ दशकमा चन्द्रमामा पठाइएकोमध्ये ६१ प्रतिशत मिसन मात्र सफल भएको बताएको छ । सन् १९५८ देखि अहिलेसम्म् १०९ वटा मिसन चन्द्रमामा पठाइएकोमा ६० मिसन मात्र सफल भए । चन्द्र मिसनको पहिलो सफलता रुसले सन् १९५९ मा हासिल गरेको थियो ।