माधव नेपाललाई कि कारवाही गरेर सिध्याउने, कि कमजोर बनाएर घुँडा टेकाउने !

नेकपा एमालेभित्र बदलाको राजनीति तीव्र छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला निर्णय हिजो माओवादीका साथ लागेर हिँडेका नेतालाई सिध्याउने अभियानमा केन्द्रित छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

मूलतः माधव नेपालविरुद्ध केन्द्रित यो अभियानमा उनका प्रमुख सहयोगीको पहिचान गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिष्कारबीच शनिबार बसेको बैठकले नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो। त्यो भेला आयोजनाका लागि यी चार नेतालाई मुख्य जिम्मेवार ठह¥याइएको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भेला नगर्न निर्देशन हुँदाहुँदै नेकपा एमालेको ब्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको बताएका छन्।

ओली पक्षको यो कारबाही छोरी कुटेर बुहारी तह लगाउने योजनाअन्तर्गत भएको हो। प्रवक्ता ज्ञवालीले यसको संकेत गर्दै बाँकी नेताहरूको हकमा गम्भीर आत्मसमीक्षाका साथ पार्टीमा फर्किने विश्वास राखेको बताएका छन्। स्पष्टीकरणमा परेका एमाले उपमहासचिव घनश्याम भुसालले यो निर्णयलाई दुर्भाग्यपूर्ण बताए पनि पार्टी अनुशासनभित्र उनले स्पष्टीकरण दिनु नै पर्ने होला। तर भुसालले भने जस्तै स्पष्टीकरण ओलीका लागि चित्तबुझ्दो पक्कै हुने छैन र त्यहीँ नै उनी रोकिनुहुने छैन। ओलीको कार्यशैलीले भुसालका शंकालाई बल पुग्ने थुप्रै निर्णय पार्टीबाट गराइसकिएका छन्।

पार्टीको एउटा पक्षले बहिष्कार गरिरहँदा उनीहरूलाई सहभागी गराउनेतर्फ पार्टी निर्णय केन्द्रित छैनन्। उनीहरूमध्ये नेताहरूलाई कारबाहीका नाममा सिध्याउने र अरूलाई कमजोर बनाएर घुँडा टेकाएर पार्टीमा फर्किन बाध्य पार्ने खेलमा ओली देखिन्छन्। नेकपा एमाले कायम रहँदा माधव नेपाल पक्षले फुटाउन सक्ने आकलनका साथ २८ फागुनमा बसेको बैठकले नै २ देखि ६ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गराएर केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय भइसकेको छ।