म भए बेडरुममै पुगेर गाला मुसार्थेँः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अभिभावकको भूमिका निभाउन नसकेको बताए ।

युवा संघको राष्ट्रिय भेलामा संम्बोधन गर्दै नेता नेपालले अभिभावकको भूमिका प्रतिसोध साँध्ने नभई मिलाउने भएको बताए ।

अध्यक्षले पार्टीका नेता कार्यकर्तालाई मिलाउने नभई कारबाही गर्ने धम्की दिँदै हिड्ने गरेको बताए ।

‘अझै पनि उहाँ सच्चिनुभएको छैन । उहाँको प्रवृत्ति कहिले पनि सुधार हुँदैन,’ नेता नेपालले भने, ‘उहाँ सुध्रिनुभयो भने अझै पनि हामी हातेमालो गरेर अघि बढ्नपर्छ । तर, त्यसअघि २०७५ जेठ अघिको अवस्थामा पार्टी पुग्नुपर्छ ।’

नेता नेपालले अध्यक्षको हैसियतले नेता कार्यकर्तालाई फकाउन नसकेको बताए । ‘उहाँले मलाई भेट्न बोलाउनुभयो । म भएको भए त घरमै पुग्थेँ, ढोका खोलेर बेडरुममै पुग्थे र खाला मुसार्थेँ । कमरेड किन रिसाउनुभो । के कुरामा चित्त बुझेन भन्दै फकाउँथे’, नेता नेपालले भने ।

तर, ओली त अझै प्रतिसोध साँध्ने र कार्यकर्तालाई झोक्याउने मुडमै तल्लीन रहेको नेता नेपालको भनाइ छ । उनले केही गरी पार्टी कार्यालयमा आफू एक्लै भेट्न गएको भए, आफूलाई रोयो भनेर आरोप लागाउने बताए ।

‘म एक्लै भेट्न गएको भए त माधव नेपालले रुँदै प्रधानमन्त्री बनाइदिनुस् भन्दै गिडगिडाए भन्नुहुनथ्यो होला । त्यही भएर नै म साथीहरुलाई लिएर गएको हुँ,’ उनले भने ।

नेता नेपालले अहिले भएका गतिविधि सच्याउँदै २०७५ जेठ ३ गते अघिको अवस्थामा पुगे आफूहरु अझै पनि सँगै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।