‘चीनमा बस्नु पर्दैन, तुरुन्तै नेपाल फर्क’

एकजना शुभचिन्तकले नेपालबाट बिहानै सोध्नुभयो, ‘कोरोना नियन्त्रण गर्न चीन कसरी सफल भयो?’

यो प्रश्न ४/५ महिनादेखि निरन्तर आइरहेको छ। घरपरिवारका सदस्य, साथी, शुभचिन्तकदेखि चिकित्सक र पत्रकारसम्मले यही प्रश्न गरिरहन्छन्। चीनले कोरोना महामारी कसरी नियन्त्रण गर्न सक्यो भन्नेबारे मसँग कुनै ठोस जवाफ त छैन। तर बेइजिङ बसेर आफूले देखे/भोगेका अनुभव दोहोर्‍याइ/तेहेर्‍याइ सुनाउनुको विकल्प पनि छैन।

म सधैं दिनको तीनपटक कार्यालयस्थित भोजनालयमा बनाइएको खाना खान्छु। जहाँबाट मजस्तै २ हजारभन्दा बढी व्यक्तिले खाना लिन्छन्। कोरोना संक्रमण सुरु भएयता भोजनालयमा बसेर खान पाइँदैन। त्यहाँबाट खाना लिएर आफ्नै निवास अथवा कार्यालयमा लगेर खानुपर्छ। भोजनालयमा खाना लिन जाँदा मास्क लगाउन अनिवार्य छ र हरेकपटक शरीरको तापक्रम जाँचिन्छ। कार्यालय प्रवेश गर्दा पनि हरेकपटक त्यही विधि अपनाइन्छ। मास्क नलगाईकन बस अथवा रेलजस्ता सार्वजनिक सवारीसाधनमा चढ्न पाइन्न। सुपरमार्केट छिर्न पनि मास्क प्रयोग र तापक्रम जाँच अनिवार्य छ।

जतिबेला चीनको उहानमा कोरोना भाइरसको संक्रमण बढेको थियो, त्यतिबेला नेपालबाट आफन्त बारम्बार भन्थे, ‘चीनमा बस्नु पर्दैन, तुरुन्तै नेपाल फर्क।’ अहिले तिनै आफन्त सोध्छन्, ‘चीनले कसरी नियन्त्रण गर्‍यो !’ यो डायरी लेख्नुअगाडि डिसेम्बर १८ तारिख शुक्रबार बिहान चीनमा कोरोना संक्रमणको तथ्यांक हेर्दै छु। डिसेम्बर १७ तारिख बिहीबार चीनमा संक्रमितको संख्या ११ मात्र छ, त्यसमा पनि १० जना विदेशबाट आएका हुन् भने एकजना सछ्वान प्रान्तका स्थानीय रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ। चीनमा शुक्रबार बिहानसम्म लक्षण नभएका कोरोना पोजिटिभ १९८ जनालाई चिकित्सकको निगरानीमा राखिएको छ। चीनमा ६ महिनायता कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन।

जम्मा ११ जना संक्रमित (लक्षणसहितका) त्यो पनि एक जनाबाहेक सबै विदेशबाट आएका, अनि लक्षणविहीन संक्रमित १९८ जना ! नेपालमा एउटा गाउँपालिकको एउटै वडामा योभन्दा बढी संक्रमित होलान् । लक्षणविहीन त झन् कति होलान् कति ! न परीक्षण न तथ्यांक। एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा संक्रमितको संख्या भने यति थोरै ! नेपाल मात्र होइन, विश्वका सबैजसो मुलुकका लागि यो कुरा आश्चर्यजनक हो। साँच्चै चीनसँग के त्यस्तो विधि छ, कोरोना नियन्त्रण गर्न सफल भयो ? विधि र तथ्य होइन, केही प्रसंग प्रस्तुत गर्न चाहन्छु।
कोरोना नियन्त्रण गर्न चीनले के कस्ता नीति र कार्यक्रम सञ्चालन गरेको छ भन्ने कुरा क्वारेन्टिनका केही उदाहरणले प्रस्ट पार्छन्।

गत नोभेम्बर ४ देखि १० सम्म साङहाईमा आयोजित तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा केही नेपाली व्यवसायी पनि सहभागी थिए। तीमध्ये केही चाइना साउदर्न एयरलाइन्सको उडानबाट क्वाङचौ हुँदै त केही एयर चाइना एयरलाइन्सको उडानबाट छङ्तु हुँदै आइपुगेका थिए। दुवै उडानबाट चीन आएका नेपाली व्यवसायी कार्यक्रममा सहभागी हुनुअघि क्वाङचौ अथवा छङ्तुमा २ सातासम्म क्वारेन्टिनमा बसेका थिए । चाइना साउदर्न एयरलाइन्सबाट आएका नेपाली व्यवसायी श्रीगोपाल श्रेष्ठले बताएअनुसार उनीहरूका साथमा आएका चिनियाँ महिलासँग विवाहित नेपाली पुरुष पनि थिए, जसलाई क्वाङचौमा विमानबाट ओर्लनासाथ परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

त्यस्तै अर्का एकजना नेपाली जो चिनियाँ विश्वविद्यालयमा काम गर्न आएका थिए, उनमा संक्रमण पुष्टि भएको थियो। ती ३ जनालाई चीनले तुरुन्तै उपचारमा पठायो। विमानमा ती संक्रमित छेउछाउ बसेका व्यक्तिलाई पनि कन्ट्याक ट्रेसिङका आधारमा छुट्टै क्वारेन्टिनमा राखेर परीक्षण सुरु गरियो। बाँकीलाई २ साताका लागि क्वारेन्टिनमा पठाइयो, जसमा श्रीगोपाल श्रेष्ठ पनि एक थिए। एउटै विमानमा चढेका सबै व्यक्तिलाई कन्ट्याक ट्रेसिङमा राखिएन, किनभने विमानमा जम्मा १५/२० जना मात्र यात्रु थिए।

कुनै पनि यात्रुलाई सँगसँगैको सिट दिइएको थिएन। तसर्थ संक्रमित बसेको सिट दायाँ-बायाँ र अगाडि-पछाडि बसेका व्यक्तिलाई मात्र कन्ट्याक ट्रेसिङमा तानिएको थियो। चीनमा विदेशबाट आएका व्यक्तिलाई २ साता क्वारेन्टिनमा राख्ने नियम छ। क्वारेन्टिनमा पठाइने व्यक्तिको पहिलोपटक रगत र स्वाब विमानस्थलमै संकलन गरिन्छ। अनि एक सातापछि दोस्रोपटक पुनः नमुना संकलन गरी परीक्षण गरिन्छ। कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिलाई भने कोरोना पोजिटिभ नदेखिए पनि २ सातामा चारपटक परीक्षण गरिन्छ।

विदेशबाट आएका यात्रुले क्वारेन्टिनमा बस्ता होटलमै बस्नुपर्छ। दुई सातासम्म बाहिर निस्कन पाइँदैन। बाहिर निस्किए ढोकामा राखिएको चुम्बकले तुरुन्तै सम्बन्धित अधिकारीलाई सूचना दिन्छ। होटलका कर्मचारीले पीपीई (भाइरसबाट सुरक्षा दिने पोसाक) लगाएर दिनको तीनपटक खाना ल्याइदिन्छन्। बिहान खाजा, दिउँसो र बेलुका खाना। घन्टी बजाएपछि ढोका खोलेर खाना लिने खाने अनि प्लेट फेरि ढोकामा राखिदिने काम क्वारेन्टिनमा बस्ने व्यक्तिले गर्नुपर्छ।

श्रीगोपाल श्रेष्ठले बताएअनुसार ढोकाबाट बाहिर निस्कने कुरा त टाढाको भयो, कोठाको बाहिरपट्टि बरन्डामा पनि जाने अनुमति हुँदैन। रातो रिबन टाँगेर त्यताको झ्याल/ढोका नखोल्न र नजान चेतावनी दिइएको हुन्छ। सोही एक्स्पोमा छङ्तु हुँदै आएका काठमाडौंका दयाप्रसाद जोशीले पनि उही अनुभव सुनाए।क्वारेन्टिनमा बसेका यात्रुलाई उनीहरूको धार्मिक आस्थाअनुसार खानेकुरा व्यवस्था गरिएको हुन्छ। कोही शाकाहारी छ भने त्यस्तै खानाको व्यवस्था गरिन्छ। क्वारेन्टिनमा जानुअगाडि सम्बन्धित यात्रुलाई सबै विवरण खुलाएर एउटा फर्म भर्न लगाइन्छ र त्यहीअनुसार व्यवस्था हुन्छ। कोरोना संक्रमणबाहेक यात्रुमा अन्य कुनै स्वास्थ्य समस्या भए त्यसको पनि परीक्षण गरी आवश्यक सुझाव दिने गरिन्छ।

बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीद्वय उत्तम न्यौपाने र दीपक बिके एक महिनाअगाडि अति आवश्यक कामले नेपाल जानुभएको थियो। यतिबेला उहाँहरू छङ्तुमा क्वारेन्टिनमा हुनुहुन्छ। आगामी आइतबार राति क्वारेन्टिनको २ साता पूरा गरेर उहाँहरू बेइजिङ आउँदै हुनुहुन्छ। उत्तम न्यौपानेलाई उच्चरक्तचाप छ। उहाँले पहिलेदेखि नै औषधि खाइरहनुभएको छ। चिनियाँले परीक्षण गर्दा उच्चरक्तचाप देखिएपछि औषधि चाहिन्छ कि भनेर सोधेको न्यौपानेले बताउनुभयो। यसबाट दुइटा कुरा पुष्टि हुन्छ। पहिलो, सामान्य यात्रु र कूटनीतिज्ञ सबैले चीनमा २ साता अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ। दोस्रो, यात्रुमा कुनै स्वास्थ्य समस्या भए तुरुन्तै उपचार।

चीनका लागि राजदूत भएर गत जुलाई ९ तारिख बेइजिङ आइपुग्नुभएका महेन्द्रबहादुर पाण्डेको पनि विमानस्थलमै स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो। त्यसपछि उहाँ दूतावासभित्रकै निवासमा १४ दिन क्वारेन्टिनमा बस्नुभयो। सातौं दिनमा दोस्रोपटक उहाँ चीन सरकारले तोकेको अस्पतालमा सुरक्षाका मापदण्ड अपनाएर परीक्षण गर्न जानुभएको थियो। राजदूत भए पनि उहाँलाई २ साता परीक्षणका लागि बाहेक बाहिर जान अनुमति थिएन। क्वारेन्टिन भनेको के हो र यसको व्यवस्था कसरी गरिन्छ भन्ने कुराको पुष्टि उल्लिखित प्रसंगले गर्छन्। नेपालमा क्वारेन्टिनलाई हल्का रूपमा लिइन्छ।

विदेशबाट आएका व्यक्तिलाई होमक्वारेन्टिन अथवा होटल क्वारेन्टिनमा राखे पनि बाहिर निस्किएर गफ गरिरहेको, चिया पसलमा बसिरहेको, क्यारेमबोर्ड खेलिरहेको देख्नु सामान्य हो।
नेपालमा क्वारेन्टिनमा बस्ने कि नबस्ने भन्ने कुरा कोरोना जोखिमले होइन, मान्छेको हैसियत र शक्तिले निर्धारण गर्छ। हैसियतवाला छ अथवा राजनीतिक पहुँच छ भने उसलाई क्वारेन्टिन बसिरहनपर्दैन। खाडी क्षेत्रबाट आएको श्रमिकलाई क्वारेन्टिनमा पठाइन्छ, तर त्यहाँ कुनै पूर्वाधार र व्यवस्था हुँदैन। अनि राति होटलमा बास बस्ने र दिनभर बाहिर घुमफिर गर्न पाउने सुविधासहितको क्वारेन्टिन नेपालमा मात्र उपलब्ध छ।

चीनले अपनाएका क्वारेन्टिनबाहेक अन्य व्यवस्था आश्चर्य लाग्ने खालका छन्। केही समयअगाडि एउटा समाचार सार्वजनिक भएको थियो कि चिनियाँ उडानमा कार्यरत चालक दलका सदस्यलाई ट्वाइलेट प्रयोग गर्न दिइँदैन। उनीहरूलाई उडान अवधिभर डाइपर लगाउन भनिएको छ। ट्वाइलेट प्रयोग गर्दा संक्रमण हुने सम्भावना भएकाले यस्तो नीति बनाइएको हो।