‘ओलीले कुर्सीबाटै पर पठाएपछि हामी एक भयौं’ – प्रचण्ड

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका दुबै नेताले आफूहरू केपी ओलीबाट पीडित बनेर एकै ठाउँमा मिलेको बताएका थिए।

नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले पेरिस डाँडाँमा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवको भेलामा यस्तो बताएका हुन्। शुक्रबारको भेलामा नेताहरुले सैद्धान्तिक विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले ओलीविरुद्ध आफूहरु कसरी एकै ठाउँमा मिल्न बाध्य भइयो भन्ने किस्सा रोचक पारामा सुनाएको भेलामा सहभागी एक नेताले सुनाए।

भेलामा बोल्ने क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले कुर्सीबाट हटाएको प्रसंग उल्लेख गरेका थिए। प्रधानमन्त्रीले कुर्सीबाट पर पठाएपछिनै आफ्नो र वरिष्ठ नेता नेपालको गठबन्धन बनेको प्रसंग सुनाएका थिए। ‘मेरो कुर्सी जब हटाइयो कुर्सी हटाएपछि मलाई माधव नेपालले भन्नुभयो, म भएको भए त्यो कुर्सी परतिर सारेर तपाईँ त्यो कुर्सीबाट हट्नुस् केपीजी भनेर बस्थेँ भन्नुभयो,’ प्रचण्डको भनाई उदृत गर्दै भेलामा सहभागि एक नेताले भने, ‘मैले केपी ओलीलाई यो कुर्सी हटाएर ठीकै गर्नुभयो भनेर भनेको थिएँ।

म तपाईँको छेउमा बसेको थिएँ, तपाईँको साथमा थिएँ, अब धेरै ठूला साथीहरू सात जनाको साथमा आएँ, अब म यतै बस्छु भनेर भनेँ । माधवजी र मैले भनेको कुरा सायद मिल्यो जस्तो लाग्छ । यस्तै घटनाले आफूहरू भावनात्मक रुपमा नजिकिएको प्रचण्डले बताएका थिए। त्यसपछिनै दुई अध्यक्षको भावनाबाट पर गएको र सामुहिक निर्णय गर्ने ठाउँमा पुगेको बताए। प्रधानमन्त्रीसँगै बसेर अघि बढ्दा पार्टी चल्न नसकेको प्रचण्डले भेलामा सुनाएका थिए।

‘हाम्रो जे एजेण्डा छ त्यसलाई हामी बडो स्ट्रोङ्ली लिएर जान्छौ,’ प्रचण्डको भनाई उदृत गर्दै ती नेताले भने, ‘जस्तालाई त्यस्तै उत्तर दिन हामीले त्यहीँ ढंगको आफ्ना चिजहरु ठिक पारेर राखेका छौं।’ वास्तवमा परिस्थितिले हामी माधवजी र मलाई एक ठाउँमा ल्यायो । आज हामी सबै सिनियर र जेनुइन लिडरहरु एक ठाउँमा आइपुगेका छौं । भेलामा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई नियन्त्रण गर्न जरूरी रहेको बताएका थिए।

‘प्रधानमन्त्रीबाट विधि र पद्धती मिच्ने काम भएको छ। जथाभावी रुपमा आरोप लगाइएको छ। अनि गोयबल्स शैलीमा प्रधानमन्त्रीकै टीमले गोयबल्स शीमा प्रचार गराएका छन्। मुल छोडिदैन र यो अत्याचारको शासनको पक्षमा लागिदैन,’ नेपाललाई उदृत गर्दै ती नेताले भने,‘हामी पार्टीमा विधि पद्दति स्थापित गर्न लाग्ने हो । पार्टी एकताको पक्षमा तपाईहरु पनि लाग्नुस्, गलत प्रचारको भण्डाफोर गर्नुस्।’