पेरिसडाँडामा आयोजित प्रचण्ड र माधवकाे गुट भेलामा गएनन् गौतम

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले डाकेको गुट भेलामा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन्। पार्टीको एउटा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित दाहाल-नेपाल समूहका जिल्ला अध्यक्ष र सचिवहरूको जिल्ला भेलामा उपाध्यक्ष गौतम अनुपस्थित भएका हुन्।

पार्टी सचिवालयमा रहेका पाँच भाइमध्ये, दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ उपस्थित भए पनि गौतमले उपस्थित नभएर अर्को अर्थपूर्ण सन्देश दिएका हुन्। नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला दाहाल-नेपाल समूहले शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली इत्तर प्रदेश १ का नेताहरुलाई पेरिसडाँडामा बोलाएका थिए। उक्त भेलालाई दाहाल, नेपालसहित शीर्ष नेताहरुले सम्बोधन गर्दै ओलीले अति गरेको बताएका थिए।

तर उक्त गुट भेलामा अनुपस्थित भए पनि गौतमले आफू पाँच भाइकै पक्षमा रहेको बताएका छन्। प्रेस सहयोगी विश्‍वमणि सुवेदीमार्फत गौतमले आफू पार्टीका कुनै पनि गुटका भेलामा उपस्थित नहुने बताएका छन्। म कुनै पनि भेलामा जान्‍नँ, पाँच नेताको बैठकमा भने जान्छु’, गौतमको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘अहिले भेला गर्ने बेला होइन। बैठकबाट सबै समस्याको हल खोज्‍ने समय हो।’

गौतमले पार्टी स्थायी कमिटी बैठक चलिरहेकाले अहिले देखिएको विवादको समाधान त्यहीँबाट खोजिनुपर्ने मत राखेका हुन्। गौतमले यसरी गुट भेला गरिरहँदा पार्टीमा झन् समस्या आउन सक्ने भएकाले आफू अनुपस्थित भएको बताएका हुन्। ‘पार्टीमा विवाद समाधानको उपाय गुट भेला होइन’, गौतमले भनेका छन्, ‘पार्टीमा पद्दति अनुसार बैठक भेला हुनुपर्छ। यो मान्यता अहिले पनि यथावत छ।’

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको स्थायी कमिटी बैठकमा ओलीले वामदेवलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए। ओलीले आफूपछि वामदेव प्रधानमन्त्री बन्‍ने भन्दै त्यसका लागि आवश्यक संवैधानिक र कानुनी व्यवस्थाका लागि पार्टीको आगामी बैठकमा थप छलफल गरिनुपर्ने मत राखेका थिए। नेकपामा भदौमा चर्किएको विवादका क्रममा गौतमले ६ बुँदे प्रस्ताव गर्दै आफूलाई ओलीतर्फ उभ्याएका थिए। तर फेरि कात्तिकबाट देखिएको विवादमा गौतमले आफूलाई प्रचण्ड-नेपाल समूहमा उभ्याएका छन्।