‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो’ – नेता पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । शुक्रबार माइतीघरमा आन्दोलनरत किसानहरूलाई भेटेपछि नेता पौडेलले भने, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो, हामी हरेक समस्याको समाधानका लागि तपाईंहरूसँग छौँ, मेरो पूर्ण ऐक्यबद्धता छ ।’

उनले किसानलाई धेरै दुःख नदिई उनीहरूका माग पूरा हुने वातावरण तयार गर्न र ठगी गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरे । नेता पौडेलले समाजवादउन्मुख राज्यमा किसानको अवस्था यसप्रकारको हुनु दुःखद भएको बताए । ‘कांग्रेस सधैँ किसानका पक्षमा छ, सरकारले किसानलाई ठगी गर्ने व्यापारीलाई शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने ।

चिनी मिलले उखुको मूल्य भुक्तानी नगरेपछि उखु किसानहरू पाँच दिनदेखि माइतीघरमा चिसो भुइँमा आन्दोलनरत छन् ।