सडक विभागका महानिर्देशकले भने, ‘ईतिहासकै सबैभन्दा बढी कालोपत्रे सडक निर्माण गर्ने ओली सरकार’

काठमाडौं। सडक विभागका महानिर्देशक केशव कुमार शर्माले परिवर्तन खबरसँगको कुराकानीमा केपी शर्मा ओली नेतृत्वको सरकारले एक आर्थिक वर्षमा ९८८ किलोमिटर सडक कालेपत्र गरेर ईतिहासमै सबैभन्दा धेरै सडक कालोपत्रे गरेको जानकारी गराएका छन् ।

महानिर्देशक शर्माका अनुसार अघिल्ला आर्थिक वर्षहरुमा सडक कालेपत्रेको काम एक तिहाई पनि नहुने अवस्थामा गत आर्थिक बर्षमा करिब ३ गुणा बढी सडकहरु कालोपत्रे भएको बताए । यस आर्थिक वर्षमा अझ बढी सडक कालोपत्रे हुने समेत उनले दावी गरेका छन् ।

यसैगरी बाटो निर्माणको क्रममा २४३ वटा पुलहरु बनाएर अघिल्ला वर्षहरुको तुलनामा झन्डै दोब्बर सडक पुल निर्माण भएको तथ्यांक समेत महानिर्देशक शर्माले देखाए ।

बहुवर्षीय ठेक्काको नाममा अघिल्ला सरकारहरुले बिना बजेट टेण्डर आव्हान गरेका सडकहरु पुरा गर्न साढे ३ खर्व बजेट आवश्यक रहेको बताउँदै वर्तमान सरकार आएपछि अघिल्ला सरकारले बिना बजेट खोलेका टेण्डरहरु पुरा गर्ने जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान दिएको उनले बताए ।

सडक निर्माणको काम सरसफाई तथा खानेपानी मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, उर्जा मन्त्रालय जस्ता विभिन्न मन्त्रालय जोडिने भएकोले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा कुनै समस्या आएमा तत्काल समाधान गर्ने संयन्त्र निर्माण गरेर साप्ताहिक रिपोर्ट लिने परिपाटी बसेकोले अब सडक निर्माणको कामले अझ गति लिने समेत महानिर्देशक शर्माले दावी गरे ।