अनलाइन गायन प्रतियोगितामा ५० जना छानिए, वरिष्ठ गायक श्रेष्ठ निर्णायक

काठमाडौं : एमएनटीभी अष्ट्रेलियाले सञ्चालन गरेको अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतिस्पर्धा हल अफ फेम सिजन २ को पहिलो चरण सम्पन्न भएको छ।

प्राप्त भएका आवेदन मध्येबाट टप ५० को घोषणा सोमबार गरिएको हो। यससँगै एमएनटीभीले निर्माण गर्ने यो सांगीतिक रियालिटी शोको प्रशारण नेपालमा हिमालय टेलिभिजनसँग गर्ने सम्झौता पनि भएको छ।

टप २० मा पर्ने प्रतिस्पर्धीहरूको नामावलीका लागि हल अफ फेम नेपालको फेसबुक पेजमा गएर हेर्न सकिनेछ। गायक गायिकाहरुले आफ्नो गायकीको भिडियो पठाएका थिए भने यसलाई निर्णायकहरू वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रेजिना रिमालले छनोट गरेका हुन्।