युट्युबको ट्रेन्डिङ एकमा चलचित्र ‘दाल भात तरकारी’

काठमाडौं – एक हप्ताअघि रिलिज गरिएको फिल्म ‘दाल भात तरकारी’ युट्युबको ट्रेन्डिङ नम्बर एकमा उक्लेको छ ।

मह सञ्चारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको फिल्म दर्शकले युट्युबमा हेरेका छन् । तर, निर्माण टिमले युट्युबमा दर्शकलाई कमेन्ट गर्न नमिल्ने बनाएको छ । हलमा रिलिज हुँदा पनि दर्शक र समीक्षकबाट ज्यादै नकारात्मक प्रतिक्रिया पाएको यो फिल्मलाई युटयुबमा कमेन्ट गर्न नमिल्ने बनाइएको हो ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, राजाराम पौडेल, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ । फिल्ममा भद्दा मजाक र लाउड अभिनय भएको भन्दै हरिवंश आचार्य र निरुता सिंहले गरेको अभिनयको टिप्पणी गरिएको थियो ।

हलमा रिलिज हुँदा नै नकारात्मक प्रतिक्रिया आएकाले मह टिमले कमेन्ट नै हटाएको हुनसक्ने आँकलन गरिएको छ । यो समाचार तयार पार्दासम्म फिल्मलाई २२ लाख ५८ हजारभन्दा बढीले हेरेका छन् । फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । रमिला आचार्य, नरेन्द्र कंसाकार, यमन श्रेष्ठ र सुदन केसीले फिल्म निर्माण गरेका हुन् । दीर्घ गुरुङको छायांकन रहेको यो फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।