‘जबरजस्ती गरियो भने संविधानमाथि ब’लात्कार हुन्छ’ – उपाध्यक्ष गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि ब’लात्कार भएको टिप्पणी गरेका छन् ।

सरकारले मंगलबार जारी गरेको अध्यादेशबारे कडा प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले अध्यादेशमार्फत् ऐन संशोधन गर्न पाइने तर संविधान संशोधन गर्न नपाइने बताएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरिएको थियो । मन्त्रिपरिषदलाईसमेत थाहा नदिई जारी गरिएको अध्यादेशमा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था छ ।

प्रधानमन्त्रीसहित ३ जनाकै उपस्थितिमा संवैधानिक परिषद बैठक
अध्यादेशबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले भने, ‘अध्यादेशले ऐन संशोधन गर्न पाइन्छ, संविधान पाइन्न । अहिले जारी अध्यादेशले एकैचोटि ऐन र संविधान दुवैलाई संशोधन गरेको छ । कतिपय ऐनमा संविधानको व्यवस्था जस्ताको त्यस्तै राखेको हुन्छ । त्यो संशोधन गर्न ऐन होइन संविधान नै संशोधन गर्न पर्छ । जबरजस्ती गरियो भने त्यो संविधान माथिको ब’लात्कार हुन्छ । अहिले त्यही भएको छ ।’

उपाध्यक्ष गौतमले यो अध्यादेश संविधानको भावना, नेकपाको सचिवालय र स्थायी कमिटीको भदौ २६ को निर्णयविरुद्ध भएको पनि बताएका छन् । अध्यादेश जारी गर्ने प्रधानमन्त्री ओलीको कदमको नेकपा, नेपाली कांग्रेस, अन्य राजनीतिक दल र संविधानका जानकारहरुले पनि विरोध गरेका छन् ।