अध्यक्षले हेपेको भन्दै गाउँपालिका उपाध्यक्षले दिइन् राजिनामा

काठमाडौ । गाउँपालिका अध्यक्षले अपमान गरेको भन्दै उपाध्यक्षले राजिनामा दिएकी छन् । साथै उनले कर्मचारीहरुले पनि हेपेको बताएकी छन् । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले अध्यक्ष र कर्मचारीलाई यस्तो आरोप लगाउँदै पदबाट राजिनामा दिएकी छन् । आफुलाई अपमानित गरेको आरोप लगाएकी अध्यक्ष एकराज उप्रेतीलाई उनले राजिनामा बुझाएकी हुन् ।

गाउँपालिकाको काममा आफुलाई वेवास्ता गरेको तथा जिज्ञासा राख्दा समेत अपमान गरेको उनको आरोप छ । बजेट बाँडफाड र योजना कार्यान्वयनका बिषयमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बिच विवाद हुँदै आएको स्थानियबासीन्दाले जनाएका छन् । यस अघि पनि उपाध्यक्षले आफ्नो कुराको सुनुवाई नभएको गुनासो गर्दै आएकी थिइन् । अध्यक्ष उप्रेतीले आफ्नो कुराको वेवास्ता गर्ने गरेको र योजना निर्माणमा सरसल्लाह नलिने उनको आरोप थियो ।
उपाध्यक्षले राजिनामा बुझाएको अध्यक्ष उप्रेतीले पुष्टि गरेका छन् । तर यस विषयमा कुनै निर्णय भने भइनसकेको उनको भनाई छ । गाउँपालिकामा देखिएको समस्याका बारेमा पार्टीमा पनि सल्लाह गर्ने उनको भनाई छ । सोमबार उपाध्यक्ष बिष्टले राजिनामा दिएको अध्यक्ष उप्रेतीले बताए । उनले कर्मचारी बिच बसेर समस्याको सामाधान गर्ने प्रयास थालिएको बताएका छन् ।

एक्कासी राजिनामा आयो अब बसेर सल्लाह गर्नुपर्छ, समस्याको समाधानका लागि गाउँपालिका स्तरको नेकपाको नेतृत्व बस्ने तयारी थालिएको बताइएको छ । राजिनामाको बिषयमा अध्यक्ष उप्रेतीले अहिले केहि भन्न नमिल्ने बताए । ‘मैले अहिले सम्म आधिकारीक रुपमा बोल्ने अवस्था छैन, समस्या बसेर सल्लाह गरेर समाधान गर्ने कोसिश रहन्छ ।’