‘मक्किएका नेता’बाट डेलिभरी हुन सक्दैन’

बागलुङ — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मक्किएका नेताबाट संघीय लोकतान्त्रिक गणतन्त्रको चाहना अनुसारको डेलिभरी दिन नसक्ने बताएका छन् । प्रदेश सरकार र स्थानीय तहको स्प्रिडमा संघीय सरकार हिँड्न नसकेको समेत उनले टिप्पणी गरे ।

मंगलबार बागलुङमा आयोजित नेपाल पत्रकार महासंघको भवन उद्घाटन कार्यक्रममा गुरुङले पुरानो मानसिकता बोकेका, अधिकार हस्तान्तरण गर्न नसक्ने जोसुकैबाट संघीयताको मर्ममा प्रहार भएको बताए । नेकपाको वर्तमान नेतृत्वलाई पनि उनले मक्किएको आरोप लगाएका थिए । संघीयता कार्यान्वयन थालेको तीन वर्षसम्म पनि संघीय मन्त्रालयहरुबाट अधिकार हस्तान्तरण नभएको उनको टिप्पणी थियो ।

‘अहिले संघमा ४८ हजार कर्मचारी छन्, प्रदेशमा ३ हजारमात्रै दिइएको छ’, उनले भने, ‘स्थानीय तहमा अहिले पनि कर्मचारी नपाएर हैरान छ, अनि संघीयता भनेर कसरी जनताको आवश्यकता पूरा गर्ने ?’ उनले संघमा २० हजार कर्मचारी भए पुग्ने भन्दै बाँकी प्रदेश र स्थानीय तहमा पठाउन माग गरे । साथै उनले बजेट, कर्मचारी सरुवा र पदस्थापन तथा कानून हस्तान्तरणको बाटो खुलाउन संघ तयार नभएको आरोप लगाए ।

उनले बिजुलीको बिकल्प अगुल्टो नभएको भन्दै राजतन्त्र फर्काउने सपना नदेख्न पनि चेतावनी दिए । ‘केही समय बिजुली गयो, काममा डिस्टर्भ भयो भनेर बिजुलीको विकल्प खोज्न सकिँदैन’ गुरुङले भने, ‘प्रधानमन्त्रीदेखि संघीय सरकार ढिला गरिरहन्छ, हामी बुलेट रेलजस्तै गुड्न चाहन्छौं, त्यो द्वन्द्वले जनताको माग सम्बोधनमा समस्या भएको हो ।’ उनले केन्द्रमा शक्ति र अधिकार लिएकाले प्रदेशमा दिन आलटाल गरेको आरोप लगाए ।

सहज कानुन र डेलिभरी दिन नसक्ने सरकारको विकल्प सक्षम नेतृत्व हुने उनले बताए । कम्प्युनिष्टले नसके कांग्रेस नेतृत्व हुन सक्ने भन्दै उनले राजावादी आउन नसक्ने ठोकुवा गरे । ‘घाम झर्ला राजतन्त्र फर्कंदैन’ उनले भने ।