संवैधानिक आयोगको बैठकमा सभामुख सापकोटा नजाने

संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा नजाने भएका छन्। समन्वय नभएको, गृहकार्य नपुगेको र पुर्वतयारी पनि नभएको भन्दै सभामुख नजाने निर्णय भएको बताइएको छ।

परिषद्को बैठकबारे सभामुख लगायतका सदस्यहरुसँग छलफल पनि नगरि बैठक बोलाएको बताइन्छ । परिषद् अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समन्वय नगरीकनै बैठक बोलाएपछि सभामुख नजाने निर्णयमा पुग्नु भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । अहिले विभिन्न निकायमा गरेर ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त गरी ३ पद खाली छ । त्यस्तै, निर्वाचन आयोगमा २ आयुक्त पद रिक्त छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त पद रिक्त छ । राष्ट्रिय महिला आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ । राष्ट्रिय दलित आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ । समावेशी आयोगमा अध्यक्ष सहित ४ पद रिक्त छ । आदिवासी तथा जनजाती आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ । मधेशी आयोगमा ४ आयुक्त पद रिक्त छ । थारु आयोगमा ४ आयुक्त पद रिक्त छ । मुस्लिम आयोगमा ४ आयुक्त पद रिक्त छ । राष्ट्रिय मानव अधिकार आयोगमा केही समय अघि मात्रै अध्यक्ष सहित ४ आयुक्तको पद एकै पटक रिक्त भएपछि त्यहाँ पनि अध्यक्ष सहित ५ पद रिक्त छ ।

यसरी विभिन्न आयोगहरुमा लामो समयदेखि पदपुर्ती हुन सकेको छैन ।